चौँथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ गतेदेखि हुँदै

काठमाडौ,११ चैत । महिला उद्यमी महासंघ नेपालले आगामी चैत १४ गतेदेखि “चौँथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०१९” शुरु गर्ने भएको छ । नेपालका उद्यमी महिलाको कला, सीप र क्षमताको प्रवद्र्धन गर्न, उनीहरुको उत्पदन आन्तरिक तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्ने र निर्यात व्यापारलाई प्रर्वधन गर्ने उद्देश्यले उक्त मेलाको आयोजना गर्न लागेको हो ।

महासंघले आइतबार पत्रकार सम्मेलन गरी यही चैत १४ देखि १८ गतेसम्म ललितपुरको हेरिटेज भेन्यु गार्डेनमा मेला आयोजना गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष शारदा रिजालले मेला महिला उद्यमीको कला कौशल र क्षमता प्रवद्र्धनका साथै उत्पादनको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणको लागि मेला प्लेटफर्म हुने बताइन् ।

सो मेलाको उद्धघाटन महिला तथा बालबालिका मन्त्री थममाया थापाबाट हुने र मेलाको मूख्य आकर्षण सिन्धुली जिल्लाको घाँस बेच्ने एक महिला उद्यमी सुकमाया तामाङ हुन् । ग्रामीण क्षेत्रको सफल महिला उद्यमी तामाङलाई उनको उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउन मुख्य आकर्षणको रुपमा लिइएको अध्यक्ष रिजालको भनाइ छ ।

मेलामा १०७ वटा स्टलहरु रहनेछन् । जसमा ४ वटा निःशुल्क रहेछन् भने बाँकी सशुल्क रहेको छ । ६ वटा अन्तर्राष्ट्रिय स्टल रहने उक्त मेलामा स्टल राख्न चाहने उद्यमी सदस्यलाई २२ हजार, सदस्यता नभएकालाई २७ हजार र जिल्लाबाट आउनेलाई १५०० रुपैयाँ शुल्क लाग्ने महासंघकी पहिलो उपाध्यक्ष रिता सिंहाले जानकारी दिएकी छिन् ।

मेलामा स्वदेशका ३२ वटा जिल्लाबाट उद्यमी लगायत बंगलादेश, भारत, कम्बोडिया, थाइल्याण्ड र पाकिस्तानका महिला उद्यमीहरु सहभागी हुनेछन् । हस्तकलाका समान जस्तै, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुन्नाका सामानहरु, हाते कागज तथा काठजन्य वस्तुहरु, जैविका खाद्य पदार्थ, कृषिजन्य उत्पादनहरु लगायत विभिन्न सेवा प्रदायक संस्थाहरुको स्टलहरु मेलामा रहने उपाध्यक्ष सिंहाले बताइन् ।

मेलामा करिब ५० हजारले अवलोकनका साथै कुल ५ करोड रुपैयाँ बराबरको कारोबार हुने महासंघ अनुमान रहेको छ । साथै, सार्क राष्ट्र, युरोप लगायतका देशहरुबाट ५० जनाभन्दा बढी विदेशी आयतकर्ता आउने अपेक्षा लिइएको आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *