स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं, १८ बैशाख । चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवि भण्डारी पूर्वनिर्धारित समयभन्दा एक दिन पहिल्यै स्वदेश फर्किएकी छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन वैशाख ११ गते त्यसतर्फ गएकी भण्डारी बुधबार बिहान काठमाडौं अवतरण गरेकी हुन् ।
विमानस्थलमा उनलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरासहितका उच्च पदाधिकारी पुगेका थिए ।
राष्ट्रपति भण्डारीले सोमबार चिनियाँ समकक्षी सी जिनपिङसँग औपचारिक भेटवार्ता गरेकी थिइन् । स्रोतका अनुसार भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगावै उनी स्वदेश फर्किएकी हुन् ।