सेयर खरिदमा अनलाईनबाटै राफसाफ हुने सेवा सुरु
काठमाडौं, १२ जेठ । आज देखि सेयर खरिद गर्दा खाताबाटै राफसाफ हुने सेवा सञ्चालनमा आएको छ । योसँगै अव सेयर खरिदपछि लगानीकर्ताले चेक बोकेर ब्रोकर कार्यालय जानु पर्ने झन्झटबाट मुक्त भएका छन् ।
नेपाल क्लियरिङ हाउसको ‘कनेक्ट आइपीएस’ मा आवद्ध ४८ बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका लगानीकर्ताले यो सुविधा उपयोग गर्न सक्ने छन् । यसमा सामेल हुन केही बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया सुरु गरेको जनाइएको छ ।
हाल सेयर खरिद गर्दा मात्र अनलाइनबाट भुक्तानी गर्न सकिने छ । पछि सेयर बिक्री बपत प्राप्त रकम पनि खातामै जम्मा हुने व्यवस्था गर्ने बताइएको छ। तर रकमको सिमा भने नेपाल राष्ट्र बैंकको नियम अनुसार हुने छ । राष्ट्र बैंकले इन्टरनेट बैंकिङबाट एक खाताबाट अर्को खातामा रकम पठाउँदा एक पटकमा १ लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन पाउने व्यवस्था गरेको छ। यस्तै, इन्टरनेटबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम १ लाख रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ । सोही व्यवस्थाभित्र रहेर अनलाइन राफसाफ गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ ।