घोडाघोडी तालको डिपिआर सार्वजनिक

कैलाली २७ असार । कैलाली जिल्लाको २ पर्यटकीय स्थलको गुरूयोजना सार्वजनिक गरिएको छ । विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी तालको प्रवेशद्धार क्षेत्रको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको हो ।
घोडाघोडी नगरपालिका अन्तर्गतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले गुरूयोजना अनुसार तत्काल निर्माण कार्य अगाडी बढाइने जनाइएको छ । बोर्डका उपाध्यक्ष दयाराम चौधरीका अनुुसार पूर्व–पश्चिम महेन्द्र राजमार्ग संग जोडिएको तालको प्रवेश क्षेत्रमा पानी निकास गेट, पार्क, ताल अवलोकन स्थल, काठे पूल, पानी फोहरा, विश्राम स्थलसहितका संरचना निर्माण गरिने भएको छ । गुरूयोजना अनुुसारको संरचना निर्माणमा २ वर्ष लाग्ने बताउँदै बोर्डका उपाध्यक्ष चौधरीले जसको एक करोड ९० लाख लागत अनुुमान गरिएको जनाए ।
घोडाघोडी नगरपालिकाले समग्र ताल तथा सिमसार क्षेत्रको पनि गुरूयोजना निर्माणको कार्य अगाडी बढाएको छ । आउँदो फागुुनभित्र बृहत घोडाघोडी ताल तथा पर्यटन क्षेत्रको गुरूयोजना तयार गरिने जनाइएको छ । तालको संरक्षण, सम्वद्र्धन तथा पर्यापर्यटन गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले जर्मन सहयोग नियोग (जिआइजेड) को सहयोगमा १० वर्षे गुरूयोजना निर्माण प्रक्रिया बढाएको हो । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले तालको संरक्षण र सम्वद्र्धन गरी पर्यटन विकासको लागि गुरूयोजना कोसेढुंगा सावित हुने बताए ।