नुवाकोटका मेयर पण्डितद्वारा निजी बालुवा डिपोमा फलामे बार
काठमाडौं, ५ साउन । नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले व्यक्तिको निजी सम्पत्तिमा फलामे बार लगाएका छन् । उच्च अदालत पाटनको आदेशलाई समेत अवज्ञा गर्दै उनले विदुर नगरपालिका वडा नं. ५ तल्लोपिपल्टारमा सञ्चालन भइरहेको प्रसोभना सप्लायर्सको बालुवा डिपोमा फलामे बार लगाएर सामान बिक्रीमा रोक लगाएका हुन । मेयर पण्डितले नगर प्रहरी लगाएर डिपोको जमिनमै नगरपालिकाको खर्चमा फलामे गेट हालेका छन् ।
सप्लायर्सले सात वर्ष अघि घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटमा दर्ता भएर ढुङ्गा, बालुवा, रोडा, चिप्स लगायतका निर्माणजन्य वस्तुको काम र कारोवार गरिरहेको छ । विदुर नगरपालिका वडा नं. ५ को त्यस स्थानको झण्डै पाँच रोपनी क्षेत्रफलमा स्टोर गरिएको बालुवा त्यही उत्खनन् गरेको आरोप लगाउदै विदुर नगरपालिकाले सम्पत्ति कब्जा गरेको हो । स्थानीय १ सय १ जनाको हस्ताक्षर सहितको उजुरी तयार भएको देखाएर डोपो सञ्चालन भइरहेको स्थानमा बालुवा उत्खनन् भएको अभियोग लगाइएको छ । तर त्यो उजुरी र हस्ताक्षर नै किर्ते रहेको स्वयंक स्थानीहरुले बताएका छन् ।
अबैधरुपमा डिपो नियन्त्रणमा लिनका लागि मेयरले तयार गरेको अभियोग पत्रमा केही स्थानीयहरुलाई भने विदुर नगरपालिकाको कार्यालयमै बोलाएर सहिछाप गर्न समेत लगाएको बताएका छन् । एक स्थानीयका अनुसार बालुवा थुपारेको वरपरको गाउँमा बसोवास गर्ने भनेर किर्ते कागजमा जवजस्ती सही गर्न लगाइएको थियो । त्यसमा सही नगरे नगरपालिकाबाट आउने सुविधा लिन नपाउने भन्दै धम्काइएको एक स्थानीयले बताए ।
बैधानिक रुपमा खरिद गरी ल्याएको बालुवाको डिपो सञ्चालन भइरहेको स्थान र निजी सम्पत्ति माथी विदुर नगरपालिकाको नाममा मेयर पण्डितले गरेको नियन्त्रण र हस्तक्षेप विरुद्ध संचालक प्रकाश राई अदालत पुगेका थिए । उच्च अदालत पाटन गएका कम्पनीका सञ्चालक राईले १० महिना अघिनै न्याय पाएका थिए । तर अदालतले गरेको फैसला र दिएको निर्देशनको कार्यान्वय विदुर नगरपालिकाले नगरेपछि उनी अहिले पनि अदालतकै ढोका ढकढक्याइरहेका छन् ।
१५ महिना अघि विदुर नगरपालिकाले प्रसोभना सप्लायर्स्को डिपोमा रहेको बालुवा लिलाम गर्ने सूचना समेत जारी गरेको थियो । अन्य उद्योगबाट बालुवा खरिद गरी सप्लायर्सले स्टोर गरिरहेको व्यक्तिगत सम्पत्तिलाई नगरपालिकाले आफु अनुकुल प्रयोग गर्न लागेको प्रति उच्च अदालत पाटनले तत्कालै रोक लगाउन निर्देशन दिएको थियो । २०७५ साल असोज २३ गते उच्च अदालत पाटनले विदुर नगरपालिकालाई दिएको आदेशमा भनिएको छ– ‘युनिक खनिज उद्योग प्रालिबाट बालुवा खरिद गरी कित्ता नम्वर ८१७ को जग्गामा सञ्चय गरेको बालुवा विदुर नगरपालिकाले जानकारी नदिई प्राकृतिक न्यायको सिद्धान्त विपरित लिलाम बढावढ, बोलकवोल गर्ने गरी २०७४÷१२÷९ मा शिलवन्दी दरभाउ सूचना जारी गरी विदुर नगरपालिकाबाट भएको २०७४÷१२÷१७ को लिलाम बदर गरिएको छ ।’
स्टोर भएको बालुवा विक्रिका लागि अनुमती दिएको भन्दै विदुर नगरपालिकाले प्रसोभना सप्लायर्ससँग कर समेत उठाएको देखिएको छ । युनिक खनिज प्रालिले नै कर तिरिसकेकोले प्रसोभनाले पनि फेरि त्यसमाथि कर तिर्दा दोहोरो हुने जिकिर सञ्चालकले गरेको भएपनि डिपो सञ्चालनका लागि कर तिर्न विदुर नगरपालिकाले पत्रचार गर्यो । दोहोरो कर समेत तिरेर बालुवा निकासीका लागि तयार रहेको प्रसोभना सप्लायर्सलाई कर संकलन भइसकेपछि नगरपालिकाले सात दिनको मात्रै म्याद दिएको थियो ।
तर मेयर पण्डितले भने रिसईबी भन्दा पनि राईले बालुवा तस्करीको कार्य गर्दै आएकाले सो कमद चालेको जानकारी दिए । उनले अवधै कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए ।