आज विजयादशमी, बिहान १०ः३५ बजे टीकाको साइत

काठमाडौं २१ असोज । आज आश्विन शुक्ल दशमीका दिन हिन्दु धर्मावलम्बीहरु हर्षोल्लासका साथ विजयादशमी पर्व मनाउँदै छन् । आफना मान्यजनका हातबाट टिका, जमरा र आर्शिवाद ग्रहण गरी विजयादशमी मनाईदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहणको साइत बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए । तर, राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने उनले बताए । सचालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने उनले बताए ।
मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ । टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए । मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।
विजया दशमीलाई धार्मिक कथाअनुसार असत्यमाथि सत्यको विजय भएको दिनको रुपमा पनि लिईन्छ । यस दिन भगवान् श्रीरामचन्द्रले रावणलाई वध गरेको धार्मिक मान्यता छ। यसै कथाअनुरूप तराईलगायत भारतका कतिपय स्थानमा रावण दहन गर्ने परम्परा छ। आसुरी शक्तिमाथिको विजयोत्सव मनाइने विजया दशमीमा दिनभर प्रायः हिन्दु धर्मावलम्बीले शुभ मान्छन्। यस दिन विवाह, व्रतबन्ध, घरको जगपूजा जस्ता कुनै पनि शुभ कार्य गर्नका लागि साइत हेर्न नपर्ने जनविश्वास छ।