नेप्सेमा झिनो अंकले सुधार, कारोबार रकम भने घट्यो
काठमाडौं, ३० असोज । साताको अन्तिम दिन बिहीबार (आज) सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । आज सेयर बजारमा ०.७१ अंकले वृद्धि भई परिसूचक ११३७.७५ विन्दुमा बन्द भएको छ ।
त्यस्तै नेप्सेमा झिनो अंकले वृद्धि भएपनि कारोबार रकममा भने एक करोड रुपैयाँभन्दा बढीले गिरावट आएको छ । हिजो १९ करोड ६६ लाख रुपैयाँको कारोबार भएकोमा आज १८ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । एक सय ६० कम्पनीको ९ लाख ९८ हजार कित्ता सेयर खरिद विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । उक्त बैंकको एक करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी आज नेप्सेमा सूचिकृत ११ समूहमध्ये ४ वटा समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य बाँकी समूहको उपसूचकमा सुधार देखिएको छ । उपसूचक गिरावट आउनेमा होटेल, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूह रहेका छन् ।