मास प्रिन्टर जडान गर्याे विभागले, ‘स्मार्ट’ लाइसेन्स छपाई तीव्र हुने
काठमाडौं, १६ कात्तिक । सवारी चालक अनुमतिपत्र छपाईका लागि मास प्रिन्टर ठूलो क्षमताको छपाइ उपकरण सञ्चालनमा ल्याईने भएको छ । योसँग अनुमतीपत्र छपाईमा भएको ढिलाईको समस्या हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको उक्त उपकरणको जडान र परीक्षण सकिएकाले अब सञ्चालनमा ल्याउन लागिएको हो ।
अबको केही दिनसम्म परीक्षण भएपछि उपकरण पूर्णरूपमा सञ्चालनमा आउने यातायात व्यवस्था विभागले जनाएको छ । उपकरणका धेरै भाग छुट्टिएर आउने हुँदा त्यसको जडान र प्रविधि जडानको काम यो अवधिमा भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनका अनुसार उपकरणमा ‘सफ्टवेयर’ कै लागि लामो समय लागेको हो । अहिले परीक्षणका लागि चालक अनुमतिपत्र छपाइ भइरहे पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा आउन बाँकी रहेको उनले बताए। परीक्षणका क्रममा कुनै पनि किसिमका समस्या नआएकाले पूर्णरूपमा सञ्चालन गर्न समस्या छैन ।
विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनबाट झण्डै साढे ७ लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । यो सङ्ख्या अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तिर्ण र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीको हो । यो उपकरण पूर्णरूपमा सञ्चालन हुँदा तीनदेखि चार महिनामा सबै कार्ड छापिसकिने विभागले अनुमान गरेको छ ।
काठमाडौँ उपत्यकामा सवेग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइनेछ । काठमाडौँ उपत्यका बाहिरबाट विवरण आउन र छापिएपछि बाटोमा समय लाग्दा मात्रै ढिलाइ हुने उनले बताए । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो । उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । तीमध्ये चार लाख कार्ड आइसकेको र बाँकी छ लाख आउने क्रममा रहेको विभागले जनाएको छ ।
विभागले गत वर्ष ग्लोबल खरीद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । अहिले विभागमा रहेको मुद्रण यन्त्र को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत अनुमतिपत्र पाएका छैनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन भएको कार्यालयहरुले बताउँदै आएका छन् ।