विभिन्न वित्तीय संस्थाको मुद्धती निक्षेपमा ६४ करोड निक्षेप राख्दै राष्ट्र बैंक
काठमाडौँ, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले मंसिर १ गते देखि बैंक तथा वित्तीय संस्थाहरूमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेका रकम एक वर्षका लागि मुद्दती खातामा राख्न लागेको हो। केन्द्रीय बैंकले त्रैमासिक रुपमा ब्याज लिने गरी लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई एक अर्ब ३१ करोड १६ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा २४ करोड ५९ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ८ करोड १९ रुपैयाँ रकम राख्ने भएको हो। राष्ट्र बैंकको निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा दिने ब्याजदर समेत खुलाई कार्तिक यही शुक्रबार अपराह्न १ बजेसम्म वित्त व्यवस्थापन विभागमा आइपुग्ने गरी आवेदन गर्न सक्नेछन्।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कूल कर्जाको पाँच प्रतिशत भन्दा कम भएको जस्ता शर्तहरु पूरा गरेको हुनुपर्नेछ। साथै, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको अवस्थामा फुकुवा भएको छ महिना अवधि पूरा भएको र सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरीसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।