बिश्व बैकले दिएको कर्जामध्ये ५६ प्रतिशत रकम श्रम सिर्जनामा खर्च गर्नुपर्ने

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकले प्रदान गरेको सहुलियत कर्जामध्ये ७ अर्ब ६३ करोड नेपालको श्रमबजार सुधारमा खर्च गरिने भएको छ । यो कुल कर्जा रकमको ५६ प्रतिशत हो । विश्व बैंकको शर्त अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी सिर्जना गर्न उक्त कम खर्च गर्नुपर्नेछ ।
विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल १३ अर्ब ६८ करोड सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंकले १ प्रतिशत ब्याजदरमा आगामी ३८ वर्षका लागि रकम प्रदान गरेको हो ।
कोषले कुल कर्जा रकमध्ये ५ अर्ब ७ करोड रुपैयाँ रोजगार सेवाकेन्द्र तथा सूचना प्रणाली स्थापनका लागि खर्च गर्नुपर्नेछ । यो रकम कुल कर्जामध्येको ३७ प्रतिशत हो । मन्त्रालयले रोजगार कार्यक्रम सञ्चालनका लागि सबै स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरेको छ । कर्जाबाट प्राप्त भएको रकम उक्त सेवा केन्द्रलाई थप बलियो बनाउन खर्च गरिने कार्यक्रम प्रमुख लोकनाथ भुसालले बताए ।
त्यस्तै, मन्त्रालयले सूचना केन्द्र स्थापनाको तयारी गरेको छ । सबै स्थानीय निकायबाट प्राप्त तथ्यांकलाई एकीकृत रुपमा संकलन गर्न सुचना केन्द्रको स्थापना गर्न लागिएको हो । सुचना केन्द्रले बेरोजगारीका तथ्यांक, रोजगारी पाउँने तथ्यांक, परियोजना तथ्यांक संकलन गरिनेछ ।