असोज महिनामा जीवन बीमा कम्पनीहरुले ८ अर्बको व्यापार गरे
काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्ष २०७६/७७ को असोज महिनामा जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार म्यादी जीवन बीमा बापत १९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने जीवन बीमा व्यवसाय बापत ७ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेका छन् ।
चालु आवको असोज महिनासम्ममा भने कम्पनीरुले २४ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । भदौ महिनाको तुलनामा यो रकम ४८ प्रतिशतले बढी हो । कम्पनीहरुले बैदेशिक रोजगार म्यादी जीवन बीमा बापत १६ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् भने जीवन बीमा व्यवसाय बापत २४ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
असोज महिनामा मात्रै कम्पनीहरुले ६ लाख २० हजार १६४ वटा बीमा योजना विक्री गरेका छन् । जसमध्ये ५ लाख ५३ हजार ८६१ बैदेशिक रोजगार म्यादी जीवन बीमा योजना विक्री भएका छन् भने ६६ हजार ३०३ बैदेशिक रोजगार म्यादी जीवन बीमा योजना जारी भएको छ ।
सो अवधिमा कम्पनीहरुले ३९ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । त्यस्तै, दाबी बापत कम्पनीहरुले अझै ३ करोड ६४ लाख रुपैयाँ बाकी रहेको कम्पनीहरुको तथ्यांकले देखाएको छ ।
नेपालामा १९ वटा जीवन बीमा कम्पनी सञ्चालित छन् । सबै कम्पनीहरुले सावधिक, आजीवन तथा म्यादी जीवन योजना विक्री गर्दै आएका छन् ।