Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विश्व बजारमा प्रतिस्पर्धी बन्न हस्तकलाको डिजाइनमा परिवर्तन आवश्यक छ : अर्थमन्त्री खतिवडा

विश्व बजारमा प्रतिस्पर्धी बन्न हस्तकलाको डिजाइनमा परिवर्तन आवश्यक छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, १२ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकलाका सामाग्रीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन डिजाइनमा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको १७ औं हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खतिवडाले नेपाली हस्तकलाका सामाग्रीले परम्परागत कला र संस्कृतिलाई जगेर्ना गरेको भएपनि विश्व बजारमा प्रतिस्पर्धी बनाउँन आवश्यक रहेको बताएका हुन् । उनले भने–‘हस्तकलाका सामग्रीले हाम्रो कला र संस्कृतिको संरक्षण गर्नु राम्रो हो तर, बजारीकरणमा प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रचलित डिजाइनलाई पनि ध्यान दिनुपर्छ ।’

त्यस्तै उनले नेपाल हस्तकला महासंघलाई हस्तकला क्षेत्रमा भएका समस्याहरू टिपोट गरी अर्थमन्त्रालयमा आउँन पनि आग्रह गरे । सरकारले बजेटमा नै रेसाजन्य वस्तु उत्पादनलाई प्रोत्साहन गरेको र हस्तकलाका सामनहरू विभिन्न देशमा निर्यात गर्न के गर्न सकिन्छ भन्ने व्यवसायीबाट सुझावको अपेक्षा गरिरहेको पनि जानकारी दिए । मन्त्री खतिवडाले भने– ‘कहाँ कति हस्तकलाका वस्तु निर्यात हुन्छन् । त्यो विवरण उपलब्ध गराउँनुस् त्यसको व्यवस्थापन गर्ने काम सरकारले गर्छ ।’

त्यसैगरी वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले सरकारले हस्तकलाका सामानलाई सहज रुपमा निर्यात गर्न नीति बनाएरै अगाडि बढ्ने बताए । हस्तकलाका सामान देश भित्र नै खपत बढाउँन महासंघले बजारीकरणको शैलीमा परिवर्तन गर्नु पर्ने आवश्यक रहेको सचिव अर्यालले बताए ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले सरकारले हस्तकला व्यवसायलाई व्यवस्थित गर्न उचित नीति बनाउन नसकेकाले यो व्यवसायले गति लिन नसकेको गुनासो गरे । हस्तकला व्यवसायले आन्तरिक रोजगारी सृजना गर्ने र आर्थिक वृद्धिमा सहयोग पुग्ने भएकाले सरकारले यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै विभिन्न व्यवसायीक छाता संगठनका प्रतिनिधिहरूले हस्तकलाले स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर सामाग्री उत्पादन गर्ने भएकाले त्यसलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको आर्थिक समृद्धि स्वदेशी वस्तु प्रयोग र निर्यातले मात्र सम्भव हुने उनीहरुको भनाई छ ।

आजबाट सुरु भएको हस्तकला व्यापार मेला आगामी सोमबारसम्म चल्ने छ । उक्त मेलामा ७ वटा प्याभिलियन सहित २ सय वटा व्यवसायीक स्टल रहेको मेलाका संयोजक धर्मराज शाक्यले जानकारी दिए । मेलामा स्वदेशमा उत्पादन गरिएका ढाका, बाँस, छाललगायत विभिन्न धातुबाट बनेका सामग्रीहरू पनि प्रदर्शनमा राखिएको छ ।
उद्घाटन कार्यक्रममा बढी हस्तकलाका सामान निकासी गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x