१४ देशमा स्थापित ‘एक्सेलट्रिप’को सेवा अब नेपालमा, अर्बौ रुपैयाँ विदेशिनुबाट जोगिने
काठमाडौं, १ पुस । १४ वटा देशमा स्थापित हुन सफल होटल र वायुसेवाका लागि आधिकारीक अनलाइन पोर्टल ‘एक्सेलट्रिप’ले नेपालमा पनि सेवा विस्तार गरेको छ । एक्सेलट्रिप ओटीए प्रा.लि.ले काठमाडौंमा एक कार्यक्रम आयोजना उक्त सेवाको सुरुवात नेपालमा पनि भएको जानकारी दिएको हो । एक्सेलट्रिप डट कम डट एनपी नामकरण गरीएको उक्त अनलाईन पर्टलले नेपालमा भएका होटल, वायुसेवा लगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नेमा जोड दिने छ ।
कर्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले यो सेवाले नेपालबाट होटेल र पर्यटन क्षेत्रबाट बाहिरिदै आएको अर्बाै रुपैयाँ नेपालमै रहने आशा व्यक्त गरे । उनले विश्वमा चर्चित पर्यटकीय पोर्टल नेपालमा आएकोमा खुशी व्यक्त गर्दै यसलाई राष्ट्र बैंकले गर्नुपर्ने सहयोग जुनसुकै समयमा गर्न तयार हुने बताए ।
त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्य व्यवसायिक प्रयोजनका लागि खुलेका अनलाइन पोर्टलहरुले नेपाल हिमाली देश र पदयात्राका लागि मात्र प्रचारप्रसार गरेकोले नेपालको मौलिक परम्परा र यहाँको रहनसहन लगायत सम्पूर्ण कुरालाई प्रचारप्रसार गरी पर्यटकको आकर्षकको केन्द्र बनाउनेमा यो पोर्टलले सहयोग गर्ने बताए ।
कार्यक्रममा भिजिट नेपाल २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले गुणस्तरीय पर्यटक भित्र्याउनेमा यो पोर्टलको महत्वपुर्ण भूमिका हुनु पर्नेमा जोड दिए । उनका अनुसार अहिले पर्यटकको संख्या गणना भन्दा देशको आर्थिक वृद्धिका लागि गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक रहेको छ ।
यो पोर्टलले १४ देशबाट १५ लाख होटल र ४ सयभन्दा बढी वायुसेवा कम्पनीहरुलाई सेवा दिँदै आएको छ । नेपालमा यसले निःशूल्क सेवा गर्ने एक्सेलट्रिपका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र खड्काले जानकारी दिए । यो अनलाई प्रयोग गरी नेपालमा रहेका जुनसुकै बैंकका तथा विश्वका जुनसुकै बैंकहरुका कार्ड प्रयोग गरी होटल तथा वायुसेवाको बिल भुक्तानी गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए । कार्यक्रममा एक्सेलट्रिपले ई–सेवासँग पनि सम्झौता गरेको छ ।