चार महिनामा वस्तु आयात ६ प्रतिशतले घट्यो, रेमिट्यान्स आयमा पनि कमि
काठमाडौं, २ पुस । चालु आर्थिक वर्ष २०७६÷७७ को चार महिनामा ३६ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार भारततर्फ निर्यात ४५.६ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ ६ प्रतिशतले बृद्धि भएको छ। त्यस्तै अन्य मुलुकतर्फ भने ४.७ प्रतिशतले कमि आएको छ।
चार महिनामा आयात
चालु आर्थिक वर्षको चार महिनामा कुल वस्तु आयात भने घटेको छ । ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँको आयात भएको छ। गत वर्षको सोही अवधिको तुलनामा आयात ६.९ प्रतिशतले घटेको हो ।
विप्रेषण आप्रवाह
विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । रेमिट्यान्स आय पनि गत आर्थिक वर्षको चार महिनाको तुलनामा २.३ प्रतिशतले घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमि आएको छ ।
तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४
प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।