
काठमाडौं, १५ पुस । निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीबीच गत साता १५ महिनामा डीपीआर सम्पन्न हुने गरी सम्झौता भएको हो।
विभागका अनुसार डीपीआर सुरु गर्नु पूर्वपरामर्शदातालाई एक महिनाको मोबिलाइजेसनको समय दिइएको छ। परामर्शदाताले २०७७ वैशाखमा डीपीआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्नेछ। परामर्शदाताले डीपीआरका लागि विदेशी साझेदारले १२ लाख ८५ हजार चार अमेरिकी डलर र नेपाली साझेदारका लागि १२ करोड नौ लाख ८० हजार ६ सय ५२ रुपैयाँ प्रस्ताव गरेको थियो।
विभागले २०७५ असोज ६ गते निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रमा रेलमार्गको पुनःडीपीआर तयार गर्न विश्वव्यापी आसय मागेको थियो। मेची–महाकाली रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर निर्माण गर्न १३ वटा परामर्शदाताले आवेदन बुझाएका थिए। विभागको मूल्यांकन समितिले कार्य क्षमताका आधारमा ६ वटा परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको थियो। २०७५ पुस १८ गते सूचीकृत भएका परामर्शदातासँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको थियो। यी परामर्शदाताको प्राविधिक र आर्थिक प्रस्ताव २०७६ वैशाख १३ गते खोलिएको थियो। परामर्शदाताको प्राविधिक तथा आर्थिक प्रस्ताव खोलिएको ९ महिना पछि डीपीआरका लागि सम्झौता भएको हो।
Leave a Reply