सही र गलत काम गर्ने छुट्याउन सरकारलाई व्यवसायीको आग्रह
काठमाडौं, २३ पुस । उद्योगी, व्यवसायीहरुले सरकारले सबैलाई गलत देख्ने संस्कारलाई सच्याउनुपर्ने बताएका छन् । केहीले गलत काम गर्दैमा सबै व्यवसायी गलत हुन भन्ने मानसिकता हाबी भएको भन्दै उनीहरुले गलत र सही काम गर्नेलाई छुट्याउन आग्रह गरेका हुन ।
राजधानीमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले एउटा व्यवसायीले गलत काम गर्दा सबैलाई गलत देख्नु दुखद् भएको बताए । सबै व्यवसायी गलत नभएको भन्दै उनले बदमासी गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न सरकारसँग आग्रह गरे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले व्यवसायी र सरकारी कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताए । सरकारी निकाय झन्झटमुक्त र पारदर्शी हुन नसकेकाले सरकारले व्यवसायीलाई मात्र गलत देख्नु नहुने उनले बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्रराज पाण्डेले मुलुकमा अझै पनि उचित लगानीमैत्री वातावरण बनिनसकेको बताए । नीतिगत र प्रक्रियागत जटिलताका कारण लगानीकर्ताले सहज महसुश नगरेको भन्दै उनले यसलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सरकार र व्यवसायीबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालका केही उद्योगी, व्यवसायीमा व्यवस्थापनमा कमजोरी रहेको बताउदै उनले आलोचना भन्दापनि योजना सहित अघि बढ्न सुझाए । लगानी प्रवद्र्धनका लागि आवश्यक कानुनी सहजताका लागि सरकार तयार रहेको जनाउ पनि उनले दिए ।
कार्यक्रममा सहभागि अर्थशास्त्री डा.शंकर शर्मा, केशव आचार्य र डा.पुष्कर बज्राचार्यले सरकार र व्यवसायीबीचको विश्वास अभिबृद्धिमा जोड दिए । नेपाली अर्थतन्त्रमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै आरोप प्रत्यारोप भन्दा पनि सहकार्य अत्यावश्यक भएको उनीहरुको तर्क थियो ।