Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एमसीसी सम्झौता अनुमोदनका लागि अमेरिकाले लबिङ थाल्यो, एमसीसीका उपाध्यक्ष नेपालमा

एमसीसी सम्झौता अनुमोदनका लागि अमेरिकाले लबिङ थाल्यो, एमसीसीका उपाध्यक्ष नेपालमा

काठमाडौं, २६ माघ । अमेरिकी सहायता निकाय मिल्लेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता संसद्बाट अनुमोदन गराउन अमेरिकाले लबिङ थालेको छ । एमसीसीका युरोप, एसिया प्रशान्त र दक्षिण अमेरिकाका लागि उपाध्यक्ष रहेका जोनाथन ब्रुक्स अहिले नेपाल भ्रमणका छन् । शनिबार नेपाल आएका ब्रुक्स नेपालमा पूर्व निर्धारित भेटघाट सकेर सोमबार फर्किने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
एमसीसीसँगको सम्झौता अहिले संसद्बाट अनुमोदनको पर्खाइमा छ । सम्झौता अनुमोदनको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवाद छ । अमेरिकी दूतावासले भने ब्रुक्सको यो भ्रमण एमसीसी र नेपालबीचको साझेदारी अघि बढाउने नियमित भेटघाट र परामर्शका लागि भएको उल्लेख गरेको छ ।
एमसीसीसँगको अनुदान सहयोगमा परियोजना कार्यान्वयन गर्न अर्थ मन्त्रालय मातहतमा मिलेनियम च्यालेन्ज एकाउन्ट–नेपाल नामक विकास समिति स्थापना भएको छ । जसमा अर्थसचिवले अध्यक्षता गर्छन् । यसअघिका अध्यक्ष राजन खनाल सेवानिवृत्त भएसँगै ब्रुक्सले एमसीएका नयाँ अध्यक्षसँग भेट्नेछन् । त्यस्तै, उनले भौतिक पूर्वाधार तथा निर्माण मन्त्री वसन्त नेम्बाङसँग भेट्ने कार्यक्रम छ ।
सन् २००४ मा स्थापना भएको एमसीसी अमेरिकी सरकारको समयवद्ध अनुदान कार्यक्रम हो । आर्थिक विकासका माध्यमबाट गरिबी निवारणमा योगदान गर्ने अमेरिकी अनुदानका लागि केही विशिष्ट मापदण्ड तोकिएका छन् । नेपालले सन् २०१७ सेप्टेम्बरमा एमसीसीसँग ५० करोड अमेरिकी डलर विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिमा परिचालन गर्ने गरी सम्झौता गरेको छ ।
एमसीसीको अनुदान लिदाँ नेपाल अमेरिकी सैन्य गठबन्धनमा सामेल हुने भन्दै नेकपा नेताहरुले नै भ्रमपूर्ण अफबाह फैलाइरहेका छन् । यसबारे अध्ययन गरेर प्रतिवेदन दिन नेकपाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सम्मिलित समिति गठन गरेको छ । यो समितिले अर्को एक साताभित्र प्रतिवेदन दिने बताइएको छ ।
अमेरिकी दूतावासले भने एमसीसीमा सैन्य गतिविधिलाई अमेरिकी कानुनले नै वर्जित गरेको स्पष्टोक्ति दिइसकेको छ । अमेरिकी दूतावासले यो सहयोग लिएबापत् नेपाल कुनै पक्ष विपक्षमा लाग्नु नपर्ने कतै हस्ताक्षर गर्नु नपर्ने स्पष्ट पारिसकेको छ । अमेरिकाले एमसीसीमार्फत् नेपाललाई ३१२ किमी उच्च क्षमताको प्रसारणलाइन र सडक स्तरोन्नतिका लागि ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायता दिन लागेको छ ।
यसपछि एमसीसीको विरोधमा ‘भारतको स्वीकृति लिनुपर्ने घातक प्रावधान’ ले चर्चा पाएको छ । भारतसँग अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने परियोजना भएको हुँदा भारतको स्वीकृतिबिना उक्त परियोजना निर्माण गर्नुको अर्थ नहुने बताइएको छ । फेरी ढल्केबर–मुजफ्फरपुरमा अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण गर्न विश्व बैंकको सहायता लिदाँ पनि भारतसँग स्वीकृति लिइएको थियो । एमसीसीमा कुनै तर्कपूर्ण र यथार्थ विरोध भन्दा पनि विरोधका लागि विरोध गरेर नेकपाका नेताहरुले राजनीतिको रोटी सेकाइरहेको प्रधानमन्त्रीको बुझाइ छ । प्रचण्ड पक्षधर नेताहरुले यो विषयलाई पार्टीको महाधिवेशन सम्म नै उचालेर महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाइरहेका छन् । एमसीसीका परियोजना पाँच वर्षभित्र कार्यान्वयन गर्नुपर्ने भएकाले राष्ट्रिय कानुनमा कुनै परिवर्तन या यहाँको कानुनसँग बाझिएको अवस्थामा त्यसको समाधानमा अल्झेर परियोजनाको काममा ढिलाइ नहोस् भनेर कानुनी मान्यता दिनुपर्ने प्रावधान राखिएको हो । कानुन निर्माण गर्ने एकमात्र थलो संसद् भएकाले संसद्ले अनुमोदन नगरी यसले कानुनी मान्यता पाउँदैन । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को स्वीकृतिमा गत असारमा एमसीसीसँगको सम्झौता संसद्मा दर्ता गराएका थिए । जसलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद्को कार्यसूचीमा प्रवेश नगराउँदा वर्षे अधिवेशनबाट अनुमोदन भएन । सरकारले भने यसलाई हिउँदे अधिवेशनबाट अनुमोदन गर्ने बताउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x