Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोनाले विश्व अर्थतन्त्र थलिदैं, बहुपक्षीय दातृ संस्थाको राहत प्याकेज

कोरोनाले विश्व अर्थतन्त्र थलिदैं, बहुपक्षीय दातृ संस्थाको राहत प्याकेज

काठमाडौं, २४ फागुन । एसियाली विकास बैंक (एडीबी) ले नोभेल कोरोना भाइरसको प्रकोपका कारण आधा विश्व नै बन्द अवस्थामा रहेको र यसका कारण आन्तरिक मागमा कमी, पर्यटन, व्यवसायिक ट्राभल, व्यापार तथा उत्पादन, आपूर्ति प्रणालीमा अवरोध र स्वास्थ्यमा प्रभावले विश्व अर्थतन्त्रमा ठूलो क्षति हुनसक्ने बताएको छ । कोरोनाको असरले विश्व अर्थतन्त्रमा तीन खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आँकलन गरिएको छ । यस्तो क्षति विश्व अर्थततन्त्रको आकारको ०.४ प्रतिशत हो ।

जनवरीयता विश्वव्यापी क्षति विश्व अर्थतन्त्रको ०.२ प्रतिशत अर्थात् १५६ अर्ब अमेरिकी डलर पुगेको एडीबीको आँकलन छ । यो विश्व अर्थतन्त्रको ०.२ प्रतिशत हो । चीनले मात्र १०३ अर्ब अमेरिकी डलर अर्थात् चीनको अर्थतन्त्रको ०.८ प्रतिशतको क्षति बेहोरेको अनुमान गरिएको छ । बाँकी एसियाली मुलुकहरुमा २२ अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान गरिएको छ ।
नोभेल कोरोना भाइरसका कारण पुगेको आर्थिक क्षति पुनस्र्थानाका लागि बहुपक्षीय दातृ संस्था विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले राहत प्याकेजको घोषणा गरेका छन् ।
विश्व बैंकले नोभेल कोरोना भाइरस (कोभिड–१९) को असर न्यूनीकरणका लागि १२ अर्ब अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा गरेको छ । विकासशील राष्ट्रहरुका लागि यो सहयोग द्रुत मार्गबाट उपलब्ध गराइने विश्व बैंकले जनाएको छ ।
नोभेल कोरोना भाइरस अहिलेसम्म ८० देशमा फैलिसकेको छ । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव सिर्जना गर्न सुरु गरिसकेको परिप्रेक्ष्यमा विश्व बैंकले प्रारम्भिक रुपमा घोषणा गरेको १२ अर्ब डलर आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुझ्नका लागि प्रदान गरिनेछ । विश्व बैंकको सहयोग प्याकेज अन्तर्गत स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका लागि काम गरिने विश्व बैंकले उल्लेख गरेको छ । राष्ट्रिय आवश्यकता अनुसार विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आइडीए), पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आइबीआरडी) र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले आपसमा मिलेर काम गर्नेछन् । १२ अर्ब अमेरिकी डलर सहयोगमध्ये ८ अर्ब नयाँ सहयोग रकम हो । बाँकी ४ अर्ब विश्व बैंक र आइएफसीका विद्यमान पोर्टफोलियोलाई पुनप्र्राथमिकीकरण गरिएको हो । ६ अर्ब विश्व बैंक अन्तर्राष्ट्रिय विकास संघ र पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट परिचालन हुनेछ । अन्तर्राष्ट्रिय वित्त निगमबाट परिचालन हुने ६ अर्ब मध्ये २ अर्ब विद्यमान व्यापार सहजीकरण सम्बन्धि सहयोग हो भने बाँकी नयाँ सहयोग हो । यो सहयोग अन्तर्गत विश्वव्यापी विशेषज्ञता र राष्ट्रीय ज्ञान तथा अनुभवलाई नीतिगत सुझाव र प्राविधिक सहयोग अन्तर्गत प्रयोग पनि गरिनेछ ।
विश्व बैंकका अध्यक्ष डेभिड मल्पासले विकासशील राष्ट्रले नोभेल कोरोना भाइरसको प्रकोप र असरसँग जुझ्नका लागि आवश्यकता अनुसार सहायता लिन सक्ने बताएका छन् । यो प्याकेजमा आइडीएका तर्फबाट न्यून आय भएका मुलुकमा अनुदान, सहुलियत ऋण समावेश छ भने आइबीआरडीको सहयोग मध्यम आय भएका मुलुकमा ऋणका रुपमा फास्ट ट्रयाकबाट प्रदान गरिनेछ । विश्व बैंक समूह अन्तर्गतको निजी क्षेत्र हेर्ने अङ्ग आइएफसीले निजी क्षेत्रलाई सञ्चालन र रोजगारी कटौती हुन नदिन सहयोग प्रदान गर्नेछ ।
विश्व बैंकले प्राथमिक स्वास्थ्य सेवा सुधार, रोगको अनुगनम र स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ । जनविश्वास कायम गर्नका लागि समुदायको सहभागितामा विपन्न परिवारका बिरामीहरुको उपचारका लागि सहयोग गर्नेछ । राष्ट्रहरुलाई विश्वव्यापी विशेषज्ञतामा पहुँचका लागि विश्व बैंकले नीतिगत र प्राविधिक सल्लाह प्रदान गर्नेछ ।
आइएमएफले ५० अर्ब अमेरिकी डलरको सहयोग घोषणा गरेको छ । आइएमएफको सहयोग ब्यालेन्स अफ पेमेन्टमा दबाब या विदेशी विनिमय सञ्चिति अभावमा एलसी भुक्तानी फछ्र्यौटका लागि उपभोग गर्न सकिने बताइएको छ ।
एडीबीले नाभेल कोरोना भाइरसको प्रकोप नियन्त्रणमा सहयोग गर्न फेब्रुअरी ७ मा चीनको बृहत्तर मेकोंग क्षेत्रमा २० लाख अमेरिकी डलरको सहायता घोषणा गरेको थियो । त्यस्तै, फ्रेब्रुअरी २६ मा एडीबीका सदस्य देशहरुका लागि पहिचान, रोकथाम र नियन्त्रणका लागि अर्को २० लाख डलरको सहायता घोषणा गरेको थियो । त्यस्तै, फेब्रुअरी २५ मा चीनको उहान सहरमा रहेका औषधी उत्पादक कम्पनी ज्वाइन्ट टाउन फर्मास्युटिकल्स ग्रुपलाई १ करोड ८६ लाख अमेरिकी डलर निजी क्षेत्र कर्जाको रुपमा उपलब्ध गराएको थियो । यो सहयोग औषधी र चिकित्सा तथा अन्य सुरक्षा उपकरणहरुका लागि प्रदान गरिएको थियो । एडीबीले कोरोना भाइरसको प्रकोप नियन्त्रण तथा आर्थिक पुनर्स्थापनाका लागि सदस्य राष्ट्रहरुका लागि थप सहयोग निकासाका लागि पनि तत्पर रहेको उल्लेख गरेको छ । एडीबीले आपत्कालीन सहयता, नीतिगत सहायता, निजी क्षेत्रमा लगानी जस्ता विभिन्न सहायता विधिका साथै ज्ञान र प्राविधिक सहयोगका लागि समेत तयार रहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x