Shangrila

सार्कका सरकार प्रमुखहरु कोरोना नियन्त्रणका लागि भिडियो संवादमा जुट्दै

कठमाडौं, २ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरु आज साँझ भिडियो कन्फरेन्समार्फत् कोरोना भाइरसविरुद्ध लड्न रणनीति तयार गर्दैछन् । अधिकांश देशमा फैलिसकेको कोरोना भाइरसबाट दक्षिण एसियासहित ४६ देश भने अहिलेसम्म मुक्त छन् । तर यिनीहरु पनि उच्च जोखिममा छन् । भारतमा पनि केही ठाउँहरुमा कोरोना भाइरस फैलिरहेको छ । यसको नियन्त्रणका लागि क्षेत्रीय रणनीति तयार गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्कका सबै सरकार प्रमुखहरु सहमत भएका हुन् ।

यो संवाद साँझ पाँच बजे सुरु हुनेछ । सार्ककको अध्यक्षको हैसियतले यसमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय जाँदैछन् । ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संवादमा सहभागी हुनेछन् ।

सार्ककको १८औं शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको पाँच वर्षपछि सार्कका सरकार प्रमुखहरुबीच पहिलोपटक संवाद हुन लागेको हो । नेपालपछि पाकिस्तानमा शिखर सम्मेलन हुनुपर्नेमा भारत–पाकिस्तान तनावका कारण सम्मेलन आयोजना हुन सकेको थिएन । शिखर सम्मेलन आयोजक राष्ट्र सार्ककको अध्यक्ष रहने व्यवस्था छ । अहिले नेपाल नै सार्कको अध्यक्ष रहेकाले प्रधानमन्त्री ओली आफैं भिडियो संवादमा सहभागी हुन लागेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *