Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी

शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं, ५ चैत । सरकारले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल पूरा भएपछि सरकारले शिवाकोटीलाई कामु गभर्नर तोकेको हो । शिवाकोटी मंगलबारको मन्त्री स्तर (अर्थ मन्त्री) को निर्णयबाट कामु गभर्नर भएका हुन् ।

गभर्नर नेपाल मंगलबारदेखि सेवानिवृत्त भएका छन् । तर सरकारले अहिलेसम्म गभर्नर नियुक्तिका लागि समिति समेत गठन गरेको छैन । सोमबार र मंगलबार मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठकका लागि हल व्यवस्थापन, रंगरोगन र त्यसलाई डिस्इन्फेक्सन गर्ने कार्य भइरहेकाले मन्त्रिपरिषद् बैठक बिहीबार बस्ने बताएका छन् । मन्त्रिपरिषद्ले अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर सिफारिश समिति गठन गरेपछि उक्त समितिले मन्त्रिपरिषद् समक्ष तीन जनाको नाम सिफारिश गर्नेछ ।

अर्को गभर्नर नियुक्त नभएसम्म शिवाकोटी कामु गभर्नर रहनेछन् । ‘नेपाल सरकार माननीय (मन्त्री स्तरको) मिति २०७६।१२।४ गतेको निर्णय अनुसार तपाईलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ बमोजिम चैत ५ देखि अर्को व्यवस्था नभएसम्म नेपाल राष्ट्र बैंकको गभर्नरको कामकाज गर्नेगरी कायम(मुकायमा मुकरर गरिएको व्यहोरा अनुरोध गर्दछु’ मन्त्रालयले पत्रमा लेखेको छ ।
त्यसो त शिवाकोटी आफैं गभर्नरका प्रबल दाबेदार हुन् । हालै प्रधानमन्त्रीबाट आफूले लेखेको पुस्तक र गीत विमोचन गराएपछि प्रधानमन्त्रीसँग उनको निकट सम्बन्धका कारण उनले बाजी मार्ने चर्चा व्याप्त छ ।

यद्यपि, अर्थमन्त्री खतिवडाले भने पूर्व अर्थसचिव डा. राजन खनाललाई वचन दिएको बुझिएको छ । यसका अतिरिक्त गभर्नरका आकांक्षीहरुमा लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालशंकर घिमिरे, राष्ट्र बैंक सञ्चालक समितिका सदस्य सुबोध कर्ण, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ लगायतको नाम पनि चर्चामा छ । यद्यपि नेपाल राष्ट्र बैंकको १७औं गभर्नरमा कसले बाजी मार्ने हो टुंगो लागिसकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x