‘कोरोना परीक्षणको बहानामा कतारले निकाल्यो आप्रवासी कामदार’
काठमाडौं, ४ वैशाख । कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात् कैयौंलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । गत फागुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्नेस्टीले गरेको अन्तर्वार्तामा उनीहरूले कोभिड–१९ परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन् ।
नेपाली कामदारलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई कोभिड–१९ को परीक्षणका लागि लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाइ उद्धृत गर्दै एम्नेस्टीले उल्लेख गरेको छ ।
उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण अझैसम्म नपाएको एम्नेस्टीले जनाएको छ । एम्नेस्टी इन्टरनेसनल अन्तरराष्ट्रिय मामिलासम्बन्धी निर्देशक स्टिभ ककबर्नले भनेका छन्, ‘न त उनीहरूले आफ्नो हिरासत र निष्कासनविरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए । अमानवीयरुपमा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सरसामान ल्याउन पनि दिइएको थिएन ।’