सूचनाको हक प्रवर्द्धन गर्न नागरिक समाजको अपील
काठमाडौं, ४ वैशाख । सूचनाको हकलाई अझ प्रवद्र्धन गरी जनताप्रति उत्तरदायी हुन नागरिक समाजका अगुवाले सरकारका सम्पूर्णतह तथा सार्वजनिक निकायलाई ध्यानाकर्षण सहित अपिल गरेका छन् । कोभिड–१९ को जोखिमले विश्वलाई नै अक्रान्त बनाएको विद्यमान अवस्थामा यसको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा प्रवाह गर्ने विभिन्न निकाय, प्रदेश तथा स्थानीय सरकारले थालेका तयारी लगायतका सम्पूर्ण क्रियाकलापको बारेमा सर्वसाधारणलाई निरन्तर सूसुचित गराउन तथा सत्यतथ्य सूचना प्रवाह गर्न अगुवाले संयुक्त आह्वान गरेका हुन् ।
फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाललगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुले बिहीवार सरकारलाई सो ध्यानाकर्षणसहित अपिल गरेका हुन् ।
सूचना प्रवाहको प्रक्रिया एकद्वार प्रणाली र सूचना अद्यावधिक तथा तथ्यपरक रुपमा वेबसाइट, एप्स तथा सामाजिक सञ्जाललाई नियमित रुपमा अपडेट गर्नुपर्ने सूचनाको हकका अभियानकर्ताको माग छ । कार्यालयमा रहेकोे टोल फ्रि नं., सूचनाबोर्डमार्फत सूचना थप प्रभावकारी रुपमा कार्यान्वयन तथा प्रकाशित गर्नुपर्ने उनीहरुको भनाइ छ ।
राहत सङ्कलन, खरिद तथा वितरणको कार्यलाई पारदर्शी र प्रभावकारी बनाउनका लागि असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय तथा अन्य आवश्यकलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड २०७६ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न गराउन नागरिक समाजका अगुवाले माग गरेका छन् ।