Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुधारिँदै पोल्ट्री व्यवसाय, कुखुराका चल्ला विक्री ५० प्रतिशतभन्दा बढी

सुधारिँदै पोल्ट्री व्यवसाय, कुखुराका चल्ला विक्री ५० प्रतिशतभन्दा बढी

काठमाडौं, ३१ वैशाख । लकडाउनका पछिल्ला दिनमा पोल्ट्री व्यवसायीले राहत महसूस गरेका छन् । लकडाउनका कारण ढुवानी, बजारीकरण, दाना अभाव लगायत कारण दैनिक करोडौं नोक्सान ब्यहोर्दै आएका व्यवसायीले लकडाउन केही सहज भएपछि कारोबार बढाएका छन् । लकडाउनका कारण पोल्ट्री व्यवसाय कृषिक्षेत्रकै सबैभन्दा बढी मारमा परेको थियो भने ह्याचरी उद्योगहरूले दैनिक ६ लाख चल्ला नष्ट गर्दै आएका थिए ।
अहिले लकडाउन केही हदसम्म खुकुलो भएकाले ५० प्रतिशतभन्दा बढी चल्ला विक्री भइरहेको नेपाल ह्याचरी उद्योग संघले बताएको छ । आइतवारदेखि यो परिमाण बढेर शतप्रतिशत पुग्न सक्ने अनुमान रहेको संघका अध्यक्ष टीकाराम पोख्रेलको भनाइ छ ।
देशभरका ३२४ ओटा ह्याचरीमार्फत ब्रोइलर, लेयर्स र कलरब्रोइलर आदि गरेर हरेक हप्ता करीब ४२ लाख नयाँ चल्ला उत्पादन हुने गर्दछन् । ह्याचरीहरूले लकडाउनका कारण सबैजसो चल्ला नष्ट गरिरहेका थिए ।
यद्यपि, यसअघि आफ्ना खाली भएका फार्ममा कुखुरा हाल्न नसक्दा र भएका कुखुरा पनि सकिँदै गएकाले अहिले त्यसको असर मासुको मूल्यमा परिरहेको मासु व्यवसायीले बताएका छन् ।
मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार वैशाख १६ गते प्रतिकिलो २५० रुपैयाँमा विक्री भइरहेको मासुको मूल्य २४ गते २७० हुँदै अहिले आइपुग्दा ३०० रुपैयाँ कायम भएको छ । अहिले कुखुराको उत्पादन नै घटेकाले मासुको मूल्य अझै बढ्न सक्ने व्यवसायीको अनुमान छ ।
सामान्य अवस्थामा देशभर दैनिक रूपमा ५ लाख किलो मासु खपत हुन्छ, जहाँ काठमाडौं उपत्यकामा मात्र साढे २ लाखदेखि ३ लाख किलो मासुको खपत हुने गर्दछ । तर अहिले उपत्यकामा मासुको विक्री ३० प्रतिशत मात्रै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x