आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन शुरु
सुर्खेत, ११ जेठ । कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आजदेखि शुरु हुँदै छ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न लागिएको बताएका छन् ।
यसका लागि प्रदेशसभाका ४० सिटका अतिरिक्त दर्शकदीर्घा र सञ्चारकर्मीका छुट्याइएका बाँकी सबै सिट प्रदेशसभा सदस्यका लागि व्यवस्थापन गरिएको छ । मुख्यमन्त्री, सभामुख, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेशसभाका सदस्य, सचिवालयका कर्मचारी मर्यादापालक, चालकसमेत गरी १६५ जनाको यसअघि कोरोना परीक्षण भइसकेको छ । बैठककक्षमा क्लोरिन छर्केर निर्मलीकरण गर्नुका साथै प्रदेशसभा सदस्यहरुले स्यानिटाइजर प्रयोग गरेर मात्रै हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।