संखुवासभामा उत्पादित अल्लोजन्य वस्तु युरोपदेखि अमेरिकासम्म
काठमाडाैं, १९ माघ । संखुवासभाको सदरमुकाम खाँदवारीमा व्यवसायीक रुपमा अल्लो खेती गर्ने किसानहरुको संख्या बढेको छ । स्वदेशी एवं विदेशमा यसबाट उत्पादित कपडाको माग राम्रो भएको हुँदा किसानहरु यस खेतीतर्फ आकर्षित भएका हुन ।
बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडाको स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने गरेकोले यसको खेती गर्न थालिएको स्थानीयहरुले बताए । उच्च पहाडी क्षेत्र (करिव १२०० मिटर भन्दा वढी उचाइ) मा पाइने यस वनस्पतिवाट धागो प्रशोधन गरि त्यसवाट कोट, इस्टकोट, मोजा, टोपी, सल, भाँग्रा, पेटी, झोला बनाउने गरिन्छ ।
अल्लोबाट उत्पादित बस्तुहरुको बजार मुल्य राम्रो छ । गुणस्तरीय अल्लो कपडा प्रतिमिटर ८ सयदेखि ११ सय रुपैयाँमा बिक्रि भइरहेको छ । स्वदेश मात्र नभई विदेशमा आफन्तलाई भेट्न जाँदा अल्लोबाट उत्पादित वस्तु कोसेली स्वरुप लग्ने क्रम बढेसँगै यसको महत्व युरोपदेखि अमेरिकासम्म फैलिएको हो । संखुवासभाले वार्षिक अल्लोजन्य वस्तुको कारोबारबाट ३ करोड भन्दा बढी रकम भित्रिने गरेको अनुमान छ ।