आर्थिक सर्वेक्षण सार्वजनिक :आर्थिक बृद्धि २.३ प्रतिशत हुने, निरपेक्ष गरिबी १६.६७ प्रतिशतमा झर्ने
काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्ष २०७६–०७७ मा मुलुकको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो अनुमान सार्वजनिक गरेका हुन ।
कोरोनाले मुलुकको अर्थतन्त्र प्रभावित भएपछि यसअघि केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २. २७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो ।
चालु वर्षको फागुनसम्म अर्थतन्त्रका परिसूचक सन्तोषजनक रहेको भएपनि त्यसयता प्रभावित बनेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
त्यस्तै, चालु आर्थिक वर्षमा कुल लगानी ३.४ प्रतिशतले घटेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएको कदमबाट सार्वजनीक एवं नीजि क्षेत्रको खर्चमा आएको संकुचनले कुल लगानी १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
यो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आम्दानी औसतमा १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने छ । निरपेक्ष रेखामुनि रहेको गरिबीको जनसंख्या १६.६७ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक गरिएको छ।
सर्वेक्षण अनुसार फागुनसम्म ९० प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ । आधारभुत खानेपानी सुविधा पनि ९० प्रतिशत जनतामा पुगेको छ। स्वास्थ्य बीमा कार्यक्रम ५५ जिल्लामा २६ लाख ७७ हजार बिमीत रहेको र त्यसमध्ये २५ प्रतिशत गरिब रहेका छन् । त्यस्तै, पुननिर्माणतर्फ ६३ प्रतिशत निजी आवास, ७४ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ। त्यस्तै, कुल ३४ हजार ३४७ किमी सडक सञ्जालको लम्बाइ पुगेको मन्त्री खतिवडाले उल्लेख गरेका छन् ।