संघीय सरकारको बजेट कर्णालीमैत्री : मन्त्री ज्वाला
सुर्खेत, १६ जेठ । संघीय सरकारले बिहीवार ल्याएको आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा कर्णालीमा स्वास्थ्यलाई पहिलो प्राथमिकता तथा कृषि उत्पादन, खाद्य आपूर्ति, रोजगारीमा केन्द्रित गर्दै कर्णाली प्रदेशको विभिन्न विषयलाई सम्बोधन गरेको छ । यसबारे प्रतिक्रिया दिँदै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पहिलो पटक कर्णालीमैत्री बजेट आएको बताएका छन् । ‘संघीय सरकारले ल्याएको बजेट कोरोना केन्द्रित र कर्णालीमैत्री पनि छ । तत्कालको महामारीलाई केन्द्रमा राखेर आएको बजेटले कर्णालीका झण्डै दुई दर्जन महत्वपूर्ण आयोजनालाई प्राथमिकता दिनु कर्णालीवासीका लागि खुशीको कुरा हो,’ उनले भने ।
कर्णालीको समस्या र आवश्यकताबारे प्रदेश सरकारको तर्फबाट पटक–पटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको उलने बताए । कर्णालीमा स्वास्थ्य, सडक, खानी, खेलकुद, कृषि, पर्यटन, रोजगारी र औद्योगिक लगायतका क्षेत्रले बजेटमा प्राथमिकता पाएको उनको भनाइ छ ।
बजेटमा समेटेका कर्णाली प्रदेशका केही योजनाहरु– कर्णाली कोरिडोर निर्माण
– भेरी कोरिडोर निर्माण
– सुर्खेत कोहलपुर सडक चार लेन
– राप्ती राजमार्ग स्तरोन्नति
– सुर्खेत जुम्ला राजमार्ग स्तरोन्नति, ८ नाग्मा गमगढी रारा सडक निर्माण
– हुम्ला सदरमुकाम सडक पुर्याउने
– सुर्खेत प्रादेशिक विमानस्थल स्तरोन्नति
– प्रदेश राजधानी वीरेन्द्रनगर खानेपानी
– सरुवा रोग अस्पताल योजना
– भेरी बबई बहु उद्धेश्यीय परियोजना
– सुर्खेतका बाढी पीडितका पुनर्स्थापना
– फुकोट, जगदुल्ला र नलगाड विद्युत आयोजना
– कर्णाली भेरी लिफ्ट खानेपानी
– कर्णाली नदी तथा जलाधार संरक्षण
– जडीबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम
– सुर्खेतमा बहुमूल्य पत्थर उत्खनन उद्योग
– रारा ताल क्षेत्र दीर्घकालीन विकास योजना
– एक प्रदेश एक पर्यटकिय गन्तब्य
– कर्णाली बाल संरक्षण कार्यक्रम
– उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना
– हुम्ला यारी नाका व्यवस्थापन
– विधि विज्ञान प्रयोगशाला स्थापना