Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विश्व बैंकद्वारा १० करोड डलर ऋण स्वीकृत, उर्जा क्षेत्रको सुधार तथा पुनर्स्थापना केन्द्रित

विश्व बैंकद्वारा १० करोड डलर ऋण स्वीकृत, उर्जा क्षेत्रको सुधार तथा पुनर्स्थापना केन्द्रित

काठमाडौं, २१ जेठ । विश्व बैंकले नेपालको उर्जा क्षेत्रको सुधार र कोभिड–१९ पछिको पुनस्थार्पना एवं विस्तारका लागि १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ ।

नेपाललाई बजेट सहायताका रुपमा उपलब्ध गराइने यो सहयोगलाई विश्व बैंकले ‘डेभलपमेन्ट पोलीसी क्रेडिट’ नामाकरण गरेको छ । यो सहायता सरकारले विद्युत्को वित्तिय सम्भाव्यता, उर्जा क्षेत्रको सुशासन तथा कोभिड–१९ पछिको पुनर्स्थापनाका लागि उपयोग गर्न सक्नेछ । स्वीकृत सहुलियत ऋण ‘डेभलपमेन्ट पोलीसी क्रेडिट’ को दोस्रो श्रृंखला हो । यसले प्राथमिक नीतिगत व्यवस्था, नियामकीय र संस्थागत सुधारमार्फत् नेपालको विद्युत् क्षेत्रको विकासमार्फत् आर्थिक विस्तारको ढोका उघार्ने विश्वास लिइएको छ । यसअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको वित्तिय सम्भाव्यता सुधार गर्ने, स्वतन्त्र, पारदर्शी, जवाफदेही र क्षेत्रीय उर्जा बजारसँग तादम्यता कायम गरी नेपालको जलविद्युत्को उच्चतम विकासका लागि मार्ग प्रशस्त गरिने विश्व बैंकले उल्लेख गरेको छ । नेपालमा उत्पादित विद्युत् खरिद गर्ने नेपाल विद्युत् प्राधिकरण एकमात्र संस्था हो र प्राधिकरणलाई संघीय संरचना अनुसार पुनर्संरचना र सशक्तिकरण गरिनेछ ।

‘उर्जा क्षेत्रको सशक्तीकरणका लागि निरन्तरको सुधारले यसलाई विद्यमान संकट र संकटपछिको पुनस्र्थापनाका लागि उच्चतम महत्व दिएको छ,’ विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस एच. हदाद जर्भोसले भने, ‘यो सहायताले सरकारको विश्वसनीय, सुपथ तथा विद्युत् क्षेत्रको दीगोपनामार्फत् गरिबी निवारण र राष्ट्रको साझा संवृद्धि कायम गर्ने प्रतिवद्धतालाई पुनर्केन्द्रीत गर्नेछ ।’

पछिल्ला वर्षहरुमा, विद्युत् उत्पादनमा बढोत्तरी, प्रणालीगत चुहावट नियन्त्रण र अन्तरदेशीय प्रसारणलाइनको क्षमता विस्तारसँगै राष्ट्रव्यापी लोडसेडिङ अन्त्य गरेर नेपालको उर्जा क्षेत्रले ठूलो फड्को मारेको छ । अहिले देशका ८८ प्रतिशत जनसंख्याको माझ विद्युत्को पहुँच स्थापित भएको छ । एउटा स्वतन्त्र नियामक यतिबेला विद्युत् क्षेत्रको सुधारको प्राथमिक एजेण्डा हो र यसका लागि विद्युत् नियमन आयोग सञ्चालनमा आइसकेको छ । नयाँ विद्युत् ऐन संसद्बाट स्वीकृत हुने क्रममा छ र यसले विद्युत् उत्पादन र व्यापारको इजाजतमार्फत् प्रतिस्पर्धा अभिवृद्धि गर्नेछ । सरकारको दह्रो अठोट र प्रभावकारी व्यवस्थापनका कारण नेपाल विद्युत् प्राधिकरणले चुहावट घटाउन सफल भएको छ र पछिल्लो तीन वर्षदेखि वित्तिय अवस्थामा चमत्कारिक सुधार गर्दै नाफामा सञ्चालन भैरहेको छ । कोभिड–१९ को संकटका कारण मागमा धक्का (डिमाण्ड शक) ले नगद प्रवाह घट्न गई निर्माण कार्यहरु समेत स्थगित भएका छन् ।

‘पहिलो विद्युत् क्षेत्र ‘डेभलपमेन्ट पोलीसी क्रेडिट’ को सहायताले महत्वपूर्ण उपलब्धिहरु हासिल भएपश्चात यो सहायतामार्फत् सरकारलाई तत्कालको मध्यकाल र दीर्घकालमा उर्जा क्षेत्रमा पर्ने प्रभाव सम्बोधन गर्न सहयोग गर्नेगरी विश्व बैंकका तर्फबाट तेश्रो ‘डेभलपमेन्ट पोलीसी क्रेडिट’ उपलब्ध हुनेछ,’ विश्व बैंकका उर्जा क्षेत्र विशेषज्ञ सियापिङ वाङले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x