वैदेशिक रोजगार खुलाउने सीसीएमसीको निर्णय
काठमाडौं, ६ असार । सरकारले वैदेशिक रोजगारीबाट विदामा नेपाल आएकाहरुलाई वैदेशिक रोजगारीमा फर्कन दिने भएको छ । नयाँ रोजगारीका लागि विदेश जाने श्रमिकको हकमा भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अध्ययनका लागि विदेश जाने विद्यार्थीको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिशमा व्यक्तिको खर्चको कोभिड–१९ को परिक्षण गराएर प्रचलित जनस्वास्थ्य प्रोटोकल अनुसार आवतजावत गर्न दिने रक्षा मन्त्री नेतृत्वको सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र) निर्देशक समितिले निर्णय गरेको छ ।
समितिले सम्बन्धित देशका सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्ने अवस्थामा कामदारहरुलाई उद्दारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्यविधि बनाइ कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । समिमिले हाल स्थापित प्रयोगशालाहरुको क्षमता विस्तार तथा नयाँ प्रयोगशाला स्थापना गरी बढी परिक्षण सुविधाहरु मिलाउने, प्रदेश सरकार मातहत रहेका प्रयोगशालाहरुको क्षमता विस्तारका साथै राष्ट्रिय परिक्षण कार्यविधि अनुसार मात्र नमुना परिक्षण गर्ने निर्णय गरेको छ ।
समितिले विदेशबाट ल्याइएका कोभिड–१९ का कारण मृत्यु भएका शव कोभिड–१९ शव व्यवस्थापन कार्यविधि अनुसार र अन्यको हकमा श्रम मन्त्रालयले शव व्यवस्थापनको जिम्मेवारी मिलाउने निर्णय गरेको छ ।
कोभिड–१९ को संकटलाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा उपकरण र अत्यावश्यक स्वास्थ्य सामग्री केन्द्रबाट स्थानीय तहमा पठाउने समितिको निर्णय छ । कुटनीतिक नियोगमा कार्यरत कर्मचारीले आवतजावत गर्नुपरेमा आफ्नै खर्चमा पीसीआर परिक्षण गरी प्रचलित जनस्वास्थ्य प्रोटोकल अनुसरण गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, क्वारेन्टीन र आइसोलेसन व्यवस्थापन, स्तरोन्नति र सुधार गरी विदेशबाट आउनेहरुलाई सहज रुपमा बस्न र परिक्षण सुविधा उपलब्ध गराइने समितिको निर्णयमा उल्लेख छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि सोही अनुसार सहज व्यवस्थापनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने भएको छ । सक्रिय केशहरु देखिएका ठाउँमा समितिको सिफारिशमा पुरै सील्ड गर्ने समितिले निर्णय गरेको छ ।