अस्थायी रूपमा खुल्यो अरनिको राजमार्ग, चल्न थाले यातायातका साधन
सिन्धुपाल्चोक, १९ साउन । बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ । सडक विभाग, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र नेपाल फलपूmल व्यवसायी संघले स्थानीय तहसँगको पहलमा उक्त राजमार्ग आइतवार सञ्चालनमा ल्याइएको हो । सडक सुचारु गर्न मध्य भोटेकोशी जलविद्युत् आयोजनाकोे ठेकेदार चिनियाँ कम्पनी क्वाङ्शी हाइड्रो इलेक्ट्रिक ब्यूरोले पनि सघाएको थियो । सडक खुलेसँगै यातायातका साधन चल्न थालेका छन् ।
असार २५ गतेको भोटेकाशीको बाढीले सडकका विभिन्न सात स्थानमा कटान गरेको थियो । बाढीले जुरे पहिरो नजिकै कटान भएको तेस्रो दिनमै बाह्रबिसे नगरपालिकाले सडक खुलाइसकेको थियो भने सोभन्दा माथितिर पनि सडक अस्थायी रूपमा खुलाइएको हो । बाह्रबिसेको खुर्सानीबारीस्थित ओडार कुनामा खोला घटेपछि बगरमै सडक निर्माण गरी यातायातका साधन सञ्चालनमा ल्याइएको छ ।
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दिनचर्या कष्टकर बन्दै आएको थियो । आफूहरूलाई राहत सामग्री लिन र बजारमा ल्याउन समेत असहज भएको स्थानीयले गुनासो गरेका थिए । यसअघि सडक माथिबाट ढुंगा झर्ने गरेकाले पैदल हिँड्न पनि जोखिमपूर्ण रहेको थियो ।