बैंक तथा वित्तीय संस्थामा १३ प्रतिशतले बढ्यो निक्षेप
काठमाडौं, २ भदौ । २०७७ जेठ मसान्तसम्ममा बैंकिङ प्रणालीमा १३ प्रतिशतभन्दा बढीले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार उक्त अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.३ प्रतिशतले वृद्धि भएको हो । वार्षिक विन्दुगत आधारमा भने सो अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप १८.१ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.७ प्रतिशत, ३२.३ प्रतिशत र ४८.२ प्रतिशत अंश रहेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ प्रतिशत रहेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले निजीक्षेत्रमा प्रवाह गरेको कर्जा १०.७ प्रतिशतले बढेको छ ।
वार्षिक विन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाह भएको ११.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७७ जेठ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.५ प्रतिशत घरजग्गाको धितोमा प्रवाह भएको छ । यस्तै १३.३ प्रतिशत चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह गरिएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २६.१ प्रतिशतले बढेको छ । यसैगरी ओभरड्राफ्ट कर्जा ४.८ प्रतिशत, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा २२.६ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा १०.१ प्रतिशत, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत ७.५ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा पनि ४.९ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जामा १.१ प्रतिशत ह्रास आएको छ ।