लिबर्टी इनर्जीको आईपीओ बुधवारदेखि निष्कासन, कम्पनी भन्छ– प्रतिफल सुरक्षित छ, ढुक्कले लगानी गर्नुहोस्
बलराम बुढाथोकी
काठमाडौं, २ भदौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) बुधवार (भदौ ३ गते)देखि विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित लमजुङका स्थानीयवासीलाई विक्री गरेर बाँकी रहेको सहित कुल ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा ढुक्क भएर लगानी गर्न आग्रह गरिएको छ । आकर्षक आयोजना भएकोले आईपीओमा लगानी गर्दा प्रतिफल निश्चित हुने लिबर्टी इनर्जीका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताएका छन् ।
कम्पनीले सञ्चालनमा ल्याउन लागेकोे विद्युत् आयोजना राम्रो भएकाले कम्पनीले केही वर्षभित्रै प्रतिफल दिनेमा विश्वस्त रहन कम्पनीले लगानीकर्तालाई आग्रह गरेको छ । ‘कम्पनीले आयोजनाबाट विद्युत् उत्पादनको ३ वर्षभित्र १२.५ प्रतिशत मुनाफा बाँड्न सक्ने लक्ष्य राखेको छ,’ घिमिरेले भने, ‘सोही अनुसार हामीले काम पनि गरिरहेका छौं । सर्वसाधारणको पैसा खेर जान दिँदैनौं । ढुक्क भएर आईपीओमा लगानी गर्नुस् ।’
यो आयोजनामा खोलाको बहाव (हाइड्रोलोजी) र नजिक रहेको प्रसारण लाइनले आयोजनालाई अझ आकर्षक बनाएको कम्पनीको भनाइ छ । यी विशेषताले माथिल्लो दोर्दी जलविद्युत् आयोजनाको मुनाफा सुनिश्चित भएको घिमिरेले बताए । ‘हाइड्रोपावर सम्बन्धी गलत बुझाइ भएकाले कुनै–कुनै कम्पनीको शेयर मूल्यमा कमी आयो । तर, हामी लगानीकर्ताको विश्वास गुम्न दिँदैनौं । यो कम्पनीमा गरेको लगानी सुरक्षित छ,’ उनले भने ।
प्रतिकित्ता रू. १०० रहेको उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात् १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्कासित सबै शेयर बिक्री नभएको खण्डमा भने भदौ १७ गतेसम्म खुला हुनेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूका साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिन्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर आधार रहेको जनाउँछ ।
प्रतिफलको मुनाफा अग्रिम घोषणा
यसैबीच, कम्पनीले विद्युत् उत्पादन भएको तेस्रो वर्षमा १२.५ प्रतिशत मुनाफा दिने अग्रिम घोषणा गरेको छ । चौथोदेखि आठौं वर्षसम्म १५ प्रतिशत, नवौंदेखि ११ वर्षसम्म २० प्रतिशत, १२ देखि १७ वर्षसम्म २५ प्रतिशत, १८ देखि २५ वर्षसम्म ३० प्रतिशत, २६औं वर्षमा ३५ प्रतिशत र २७ देखि ३० वर्षसम्म ४० प्रतिशत मुनाफा दिन सकिने आकलन कम्पनीले गरेको छ ।
आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । प्राधिकरणले यसको विद्युत् हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा किन्ने सम्झौता गरेको छ । यसको आधारमा औसत विद्युत् बिक्री दर प्रतियुनिट ६.६० रुपैयाँ हुन आउँछ ।