स्वदेशमै रोजगारी सृजनाका लागि दुई अभियान सञ्चालन हुँदै
काठमाडौं, ४ भदौ । देशबाट वर्षेनि लाखौं संख्यामा विदेशिने जनशक्ति र हाल विश्वव्यापी महामारी बनेको कोरोनाबाट प्रभावित जनशक्तिका लागि स्वदेशमै रोजगारी सृजना गर्न देशमा दुईवटा अभियान सञ्चालन हुँदै छन् । गत साउन १५ मा अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको ‘अब देशमै छ रोजगारी’ अभियानको हाल दर्ता प्रक्रिया शुरू भएको भने नेपाली कांग्रेसले जेठ ४ मा गठन गरेको लगानी, पूर्वाधार तथा रोजगार विशेष समितिले उद्यम व्यवसाय गर्न चाहनेका लागि ‘गरिखाने अभियान’ सञ्चालन गर्ने भएको छ । समितिले उक्त अभियान मार्फत उद्यम, व्यवसाय गर्न चाहने जनशक्तिलाई अवसर उपलब्ध गराउने र रोजगारी गर्न चाहनेलाई रोजगारी उपलब्ध गराउन पहल गर्ने बताइएको छ ।
‘अब देशमै छ रोजगारी’ अभियान रोजगारी सर्भिस प्रालि र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्रामको सहकार्यमा शुुरू गरिएको हो । घरेलु रोजगारी प्रवद्र्धनको अवधारणा अघि सारेको रोजगारी सर्भिसले यस अभियानमा सहभागी हुन चाहनेका लागि दर्ता प्रक्रिया शुरू गरेको छ । कम्पनीले स्वदेश फर्किएका जनशक्तिलाई आफ्नो वेबसाइट, मोबाइल एप्लिकेशन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलमार्फत उचित शीप, रोजगारीको अवसर जुटाउन सघाउने बताइएको छ ।
रोजगारदाता, कामदार, लगानीकर्ता, प्राविधिक, नवीनतम सोच भएका सबै व्यक्ति उक्त अभियानमा सहभागी हुन सक्नेछन्, जसका लागि रोजगारदाता कम्पनी, लगानीकर्ता, कामदार, उद्यमसम्बन्धी नवीनतम विचार, शीप विकास सम्बन्धी कम्पनी आदिले ‘रोजगारी डटकम’को वेबसाइटमा गएर छुट्टाछट्टै दर्ता हुन सक्ने जानकारी दिइएको छ । कम्पनीले ३ महीनाभित्र विदेशबाट फर्किएका कामदारको शीपअनुरुपको काम उपलब्ध गराउने बताएको छ ।
यसैगरी नेपाली कांग्रेसले सञ्चालन गर्ने ‘गरिखाने अभियान’ उद्यम, व्यवसाय गर्न चाहने र रोजगारी गर्न चाहनेलाई अवसर उपलब्ध गराउन पहल गर्ने उल्लेख छ । मुलुकमा सम्भावित परियोजनाको सूची तयार गर्ने, आकांक्षी व्यक्ति पहिचान गरी उनीहरूलाई शीप, पूँजी, प्रविधि, बजारको उपलब्धता, मूल्य श्रृंखलामा आबद्धता गरिदिने पहल उक्त अभियानले गर्ने बताइएको छ । नेपालमै विभिन्न नवीनतम सोचसहित उद्यमशील उन्मुख हुन चाहने युवा पुस्ता र विदेशबाट रोजगारी गुमाएर फर्किएका युवालाई अभियान प्राथमिकता दिने समितिले जानकराी दिएको छ । यस अभियानबाट आगामी केही वर्षमा मुलुकभर १५ हजार व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । यस्तै शुरूमा कतिलाई रोजगारी दिने र कुन कुन क्षेत्रमा रोजगारी सृजना गर्न सकिन्छ भन्नेबारे चार सदस्यीय विज्ञ समूह निर्माण गरी अध्ययन÷अनुसन्धान गरिरहेको समितिले बताएको छ । समिति सदस्य तथा व्यवसायी अनिल रुंगटाका अनुसार समितिले कोभिड–१९ पछिको सामाजिक र आर्थिक संरचनादेखि लगानी, पूर्वाधार तथा रोजगारी क्षेत्रको अध्ययन गरिरहेको छ । उद्यमशीलतामा संलग्न हुन चाहनेहरूले समितिले निर्माण गरेको ‘गरिखाने अभियान’ मोबाइल एप्लिकेशनमार्फत आफ्नो नाम दर्ता गराउन सक्ने जानकारी गराइएको छ ।