अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिने पक्षमा ओली
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडलाई निरन्तरता दिने संकेत गरेका छन् । प्राइम टाइम्स टीभीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले खतिवडाले राम्रो काम गरिरहेकाले उनलाई नै निरन्तरता दिन सकिने उल्लेख गरेका हुन् ।
ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उनले राम्रो काम गरिरहेको स्पस्ट पारे । उनले भने, ‘२–४ दिन हेरौँ न, २० गते त आउन लागिहाल्यो । अहिले भविष्यबाणी गर्नु त्यति उचित हुँदैन ।’
अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भने, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको कार्यशैलीलाई लिएर बाहिर असन्तुष्टिहरु पनि बाहिर आइरहेको छ नि भन्ने धमलाको प्रतिप्रश्नमा उनले भने, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो, त्यही अनुसार चल्नुपर्छ ।’
युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए । तर, मुख्यरुपमा प्रधानमन्त्रीले आफ्नो कामलाई सफल बनाउनका लागि मन्त्रिपरिषद्को हिसावमा, अन्य पक्षहरु पनि केलाएर समग्रता हेरेर निष्कर्ष निकाल्ने बताए ।
ओलीले सांसद् नहुँदै खतिवडालार्ए अर्थमन्त्री बनाएका थिए । उनलाई पछि सरकारको सिफारिशमा राष्ट्रपतिले राष्ट्रिय सभामा सिफारिश गरेकी थिइन् । राष्ट्रियसभामा उनको दुई वर्षे कार्यकाल फागुन २० मा समाप्त भएको थियो । त्यसपछि ओलीले उनलाई पुनः दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए । दोस्रो पटक मन्त्री भएको ६ महिना भदौ २० मा समाप्त हुँदैछ । संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ । त्यस अवधिसम्म राष्ट्रिय सभा सदस्य नियुक्त नभए खतिवडाको कार्यकाल समाप्त हुन्छ ।
नेकपाको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान सिफारिश गरेको थियो । तर वामदेव राष्ट्रिय सभामा नजाने र चुनाव लडेर प्रतिनिधिसभामै आउने भएपछि राष्ट्रियसभामा खतिवडाको नियुक्तिको सम्भावना अझै बढेको छ ।
ओलीले बामदेव राष्ट्रियसभामा नजाने बताउँदै भने, ‘एक पटक राष्ट्रिय सभामा लैजाने निर्णय सचिवालयले गरेको थियो । तर उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय समाप्त भयो । र, उहाँ त्यसरी नजाने भनेपछि त्यो निर्णय उतिबेलै समाप्त भयो ।’ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आश्वयकताले गरिने भन्दै त्यसबारे आफूले विचार गरिरहेको बताए । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोही अनुसार समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने उनको भनाइ छ । तर उनले प्रदेशका मुख्यमन्त्री भने नफेरिने दावी गरे । तत्काल मुख्यमन्त्री परिवर्तन गरिनु भनेको अस्थिरता ल्याउनु भएको ओलीको अभिव्यक्ति छ ।