Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

‘नेपालले नवीकरणीय ऊर्जाबाटै ऊर्जाको सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने’

‘नेपालले नवीकरणीय ऊर्जाबाटै ऊर्जाको सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने’

काठमाडौं, १४ भदौ । नेपालमा नवीकरणीय ऊर्जा (सौर्य, वायोमास र वायु)को प्रशस्त सम्भावना रहेको र उत्पादन समेत बढ्दै गएको अवस्थामा यसबाटै ऊर्जाको सम्पूर्ण आवश्यकता पूरा गर्न सकिने विज्ञहरूले बताएका छन् । मुलुकमा हाल १३ सय मेगावाट विद्युत् उत्पादन भएको र तीन वर्षभित्र झण्डै तीन हजार मेगावाट उत्पादन हुने अवस्था रहेको, सौर्य तथा वायु ऊर्जाका ठूला आयोजना पनि सञ्चालनमा रहेको तथा संस्थागत र व्यापारिक प्रयोजनका ठूला क्षमताका वायोग्यास प्लान्ट बनिरहेकाले विस्तारै नवीकरणीय ऊर्जाबाटै ऊर्जाको शतप्रतिशत आवश्यकता परिपूर्ति सकिने आइतवार काठमाडौंमा आयोजित वेबिनारमा विज्ञहरूले बताएको राससमा उल्लेख छ ।
राष्ट्रिय प्रसारण वा अन्य नवीकरणीय ऊर्जाबाट एकीकृत स्मार्ट ग्रिड वा ऊर्जा भण्डारणको प्रविधिमार्फत माग र आपूर्तिलाई सन्तुलित गरी भरपर्दो ऊर्जा प्रणालीको विकास गर्न सकिएमा ऊर्जा सुरक्षा र आत्मनिर्भर हुन सकिने वक्ताहरूको भनाइ छ । नवीकरणीय ऊर्जाको प्रयोगले विदेशबाट आयातित जैविक इन्धनलाई प्रतिस्थापन गरी हरित गृह ग्यास उत्सर्जनमा निर्भरता कम गर्न सकिने भन्दै उनीहरूले यस्तो ऊर्जाको शतप्रतिशत उपयोगमा जोड दिएका छन् ।
काठमाडौं विश्वविद्यालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल नवीकरणीय ऊर्जा परिसंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले नेपालमा विद्युत्लाई बत्ती बाल्न मात्र नभई अन्य आर्थिक क्रियाकलापहरुमा पनि उपयोग गर्दा आयातित इन्धनको खपतलाई घटाउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने भएकाले सरकार, विकास साझेदार र निजी क्षेत्रको सामूहिक प्रयासको खाँचो उनीहरूले औंल्याएका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले १५औं पञ्चवर्षीय योजनामा नेपालमा विकास गर्न नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न लक्ष्यहरू राखिएको र त्यसको कार्यान्वयनबाट मुलुक पूर्णरूपमा विद्युत्मा आत्मनिर्भर बन्नसक्ने र छिमेकी मुलुकमा पनि बिजुली निर्यात गर्न सक्षम हुने अपेक्षा गरे । पूर्वमन्त्री गणेश साहले नवीकरणीय ऊर्जा स्रोतको उपयोग वृद्धि गरी कृषि उत्पादनदेखि भण्डारण र बजारीकरण गर्न सकिएमा खाद्यान्नमा पनि आत्मनिर्भर हुन सकिने बताए । यस्तै विश्वका अधिकांश देशहरू अहिले नवीकरणीय ऊर्जाको विकास र विस्तारमा लागिरहेकाले नेपालले पनि जैविक तथा परम्परागत इन्धनको निर्भरताको अन्त्य गरी यहाँ उपलब्ध सौर्य, वायु तथा वायोमासजस्ता नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनमा लाग्न अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिक प्रा एन्ड्रयू ब्लाकरले सुझाए ।
ऊर्जाविद् प्राडा जगन्नाथ श्रेष्ठले नवीकरणीय ऊर्जा स्वच्छ र दिगो ऊर्जा स्रोत भएकाले वातावरण र जनस्वास्थ्यको साथै लागतको हिसाबले पनि अन्य ऊर्जा स्रोतभन्दा निकै सस्तो पर्ने भएकाले यसको विकासमा जोड दिनु आवश्यक रहेको बताए । यस्तै नवीकरणीय ऊर्जा प्रविधिको उपयोगका लागि सरकार र विकास साझेदारहरू मिलेर काम गरिरहेको केन्द्रका पूर्व कार्यकारी निर्देशक डा नारायण चौलागाईंले उल्लेख गरे ।
उक्त अवसरमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुवोध शर्मा र प्राडा सुनील लोहानी, केन्द्रका डा लक्ष्मणप्रसाद घिमिरे र नेपाल सौर्य विद्युत् उत्पादक संघका पूर्व अध्यक्ष नवीन भुजेलले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा भइरहेको प्रगति र समस्याहरुका बारेमा प्रकाश पारेका थिए । परिसंघका अध्यक्ष गुणराज ढकालले सबैको लागि आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्र र दातृ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x