Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नियमित अन्तरराष्ट्रिय उडानको सम्पूर्ण तयारी पूरा, आन्तरिक उडान अझै अनिश्चित

नियमित अन्तरराष्ट्रिय उडानको सम्पूर्ण तयारी पूरा, आन्तरिक उडान अझै अनिश्चित

काठमाडौं, १४ भदौ । आउने मंगलवार (भदौ १६) गतेदेखि हुने नियमित अन्तरराष्ट्रिय उडानको सम्पूर्ण तयारी पूरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । कोरोना महामारीका कारण ५ महिना ठप्प रहेको नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बनाएको तालिका अनुसार आवश्यक सम्पूर्ण तयारी भएको प्राधिकरणले बताएको राससले उल्लेख गरेको छ ।
पर्यटन मन्त्रालयले यही भदौ १६ अर्थात् सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको नियमित अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ । एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्ने प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार अनुसार नियमित अन्तरराष्ट्रिय उडान हुने भए पनि आन्तरिक उडान कहिलेदेखि शुरू गर्ने भन्ने अझै अनिश्चित छ । सरकारले सहज रूपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तरराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो ।
दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तरराष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डन संगठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको छ ।
नियमित अन्तरराष्ट्रिय उडान दैनिक दुईदेखि तीनवटा मात्रै हुनेछन् । चार्टर्ड उडान पनि सञ्चालन हुने भएकाले विमानस्थलले आवश्यक जनशक्ति र स्रोत साधनको प्रयोग गर्ने भएको छ । अन्तरराष्ट्रिय उडान शुरू हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ संक्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x