प्रधानमन्त्रीको निर्विकल्प रोजाइमा अर्थमन्त्री खतिवडा, निर्णय लिन सचिवालय बैठक बस्दै

काठमाडौं, १८ भदौ । नेकपाको आज बस्ने सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त सदस्यमा कसलाई पठाउने भन्नेबारे निर्णय लिने छ । राष्ट्रिय सभा सदस्यको २ वर्षे कार्यकाल गएको फागुनमै पुरा गरेर पनि अर्थ मन्त्रीमा निरन्तरता पाएका डा. युवराज खतिवडाको कार्यकाल यही भदौ २० गते सकिदैछ । राष्ट्रिय सभामा उनलाई पुनः नियुक्ती नगरे मन्त्रीबाट राजीनामा दिनुपर्ने छ ।
राष्ट्रिय सभाको रिक्त सदस्य पदमा खतिवडालाई नै निरन्तरता दिने वा अर्का आकांक्षी वामदेव गौतमलाई पठाउने भन्नेबारे निर्णय सचिवालय बैठकले आज गर्ने स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने यो सीटमा डा. खतिवडालाई नै निरन्तरता दिने र अर्थमन्त्रालय उनैको जिम्मा लगाउने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको चाहना देखिन्छ । तर, राष्ट्रियसभामा उपाध्यक्ष गौतमले दाबी गरेपछि प्रधानमन्त्री ओली तनावमा छन् ।
हिजै मात्र उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा पनि खतिवडालाई नै राष्ट्रिय सभामा पठाएर मन्त्रीमा निरन्तरता दिन चाहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उक्त प्रस्तावमा दाहालले गौतमलाई टार्न नसकिने बताएको स्रोतले जनाएको छ।
‘प्रधानमन्त्री ओलीको जोडबल गौतमलाई राष्ट्रिय सभामा नलैजानेमा नै हुने छ । यद्यपि बाध्यताबस उनलाई राष्ट्रिय सभामा लगेपनि उपप्रधान एवं अर्थमन्त्री बनाउने जुन चर्चा छ, त्यो सम्भव छैन । ’ स्रोतले भन्यो ।
स्रोतका अनुसार खतिवडाले राजीनामा दिएपनि केही दिन मन्त्री पद खाली नै राखेर राष्ट्रिय सभाका अन्य सदस्यलाई राजिनामा गर्न लगाएर भएपनि खतिवडालाई सदस्य बनाउने र अर्थमन्त्रीमा निरन्तरता दिने मनस्थितीमा ओली छन् ।