साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी
काठमाडौं, १८ भदौ । लगातार उकालो लागेको शेयर बजारमा विहीबार भने करेक्सन देखिएको छ । यो दिन लगानीकर्ताहरुले आफ्नो नाफा सुरक्षित गर्दा बजार सामान्य अंक घटेको छ । आज नेप्से परिसूचक ०.१५ अंक घटेर १५१०.४२ विन्दुमा रोकिएको हो ।
त्यस्तै आज कारोबार रकमा पनि कमी आएको छ । हिजो ४ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ६३ करोडमा झरेको छ । यो दिन १८६ कम्पनीको ३९ हजार २०५ पटकको कारोबारमा ९३ लाख २ हजार ९७० कित्ता शेयर खरिद विक्री भएको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ८२ रुपैयाँ वृद्धि भएको हो । आज यो कम्पनीको अन्तिम शेयर मूल्य ९०९ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा बैंकिङ्ग समूह ०.२४ प्रतिशत, उद्योग समुह १.०७ प्रतिशत, विकास बैंक समूह ०.२६ प्रतिशत, हाईड्रोपावर समूह २.२६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.१८ प्रतिशत रहेका छन् । सर्वाधिक परिसूचक वृद्धि होटल समूहको भएको छ । यो समूहको परिसूचक २.१ प्रतिशत वृद्धि भएको हो ।
त्यस्तै वित्त समूहको ०.०१ प्रतिशत, निर्जीवन बीमा समूहको ०.९१ प्रतिशत, अन्य समूहको १.२२ प्रतिशत, लघुवित्त समूहको ०.३ प्रतिशत, जीवन बीमा समूहको ०.१७ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.५३ प्रतिशत परिसूचक वृद्धि भएको छ ।