मेलम्चीको पानी काठमाडौं ल्याउन थप तीन महिना लाग्ने

काठमाडौं, २३ भदौ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन ल्याउन थप तीन महिना लाग्ने भएको छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नरहेको बताइएको छ ।
खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएकोमा गत महिना भएको दुर्घटनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले बताएको खबर राससमा छ ।
गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दुर्घटना भएको थियो । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो । मानवीय क्षतिसमेत हुने गरी भएको सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ ।
इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो । समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ ।
भारतीय कम्पनी पिआइएल निर्माणस्थल आएर हेरेर गइसकेको र कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् । उनका अनुसार फ्रेम जोड्न झण्डै २८ दिन लाग्नेछ । सोही आधारमा कात्तिक मङ्सिरभन्दा पहिले पानी परीक्षण गर्न नसकिने देखिएको उनको भनाइ छ । उक्त फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरे पनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञा भएकाले उनीहरू आउन नसकेको बताइएको छ ।