Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

स्वास्थ्य सुरक्षाको विशेष मापदण्डसहित आजदेखि आन्तरिक उडान शुरू हुँदै

स्वास्थ्य सुरक्षाको विशेष मापदण्डसहित आजदेखि आन्तरिक उडान शुरू हुँदै

काठमाडौं, ५ असोज । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञा लगायत कारण करिब ६ महिनादेखि बन्द रहेको नेपालको आन्तरिक हवाई सेवा आजदेखि शुरू हुँदै छ । आन्तरिक उडानका लागि यात्रु तथा सेवा प्रदायक कम्पनीले विशेष मापदण्ड पालना गर्दै सेवा सुचारु गर्न लागिएको हो । सुरक्षित उडानको सुनिश्चितताका लागि वायुसेवा प्रदायक कम्पनीले नेपाल सरकारका साथै विश्व स्वास्थ्य संगठनको स्वास्थ्य प्रोटोकल अपनाएर सेवा सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान खुलाउने निर्णय गरेसँगै बुद्ध एयर र यती एयरलाइन्सले गत शुक्रवारदेखि नै टिकट बुकिङ खुला गरेका थिए, जसअनुसार आइतवारसम्म ७० देखि ७५ प्रतिशत सिट बुकिङ भइसकेको सम्बद्ध कम्पनीहरूले बताएका छन् । श्री एयरलाइन्सले भने एक दुई दिनपछि बुकिङ खुलाउने भएको छ ।
नेपाल वायुसेवा निगमले आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले देशका विभिन्न १० ओटा गन्तव्यमा आन्तरिक तर्फको उडान गर्नेगरी तालिका सार्वजनिक गरेको छ ।
आन्तरिक उडानमा सेवा प्रदायक कम्पनीहरूले पूर्णक्षमतामा यात्रु राख्न पाउने भएका छन् । यसअघिको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडानमा ५० प्रतिशत यात्रु राख्ने, तर भाडा भने बढी पाउने निर्णय गरेको थियो । तर सरकारको उक्त निर्णय अवैज्ञानिक भएको र ५० प्रतिशत यात्रु राखेर जहाज सञ्चालन गर्न नसकिने कम्पनीहरूको अडानपछि शुक्रवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शतप्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेको हो । वायुसेवा कम्पनीहरूले पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाई भाडा भने नबढ्ने भएको छ ।
आन्तरिक उडानमा यात्रुहरूका लागि स्वास्थ्य सुरक्षासम्बन्धी विशेष मापदण्ड तोकिएको छ, जसअनुसार कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ । विमानस्थलमा यात्रुको दोहरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेकइन, सामाजिक दूरी, विमान चढ्नुअगावै ह्यान्ड स्यानिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको छ । काठमाडौंको त्रिभुवन विमानस्थलसहित यहाँबाट उडान हुने गन्तव्य विमानस्थलहरूमा पनि सोहीअनुसार सुरक्षा मापदण्ड लागू गरिएको प्राधिकरणले बताएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडान हुने वायुसेवा सञ्चालन संघले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x