६ महिनापछि उडे जहाज
काठमाडौं, ५ असोज । झण्डै ६ महिनापछि आन्तरिक वायु सेवाका जहाजहरुले व्यवसायिक रुपमा उडान थालेका छन् । चैत ११ मा लकडाउन शुरु गर्नअघि नै कोभिड–१९ को संक्रमण फैलने जोखिम बढी रहेको भन्दै आन्तरिक हवाइ उडान लगायत सेवाहरु बन्द गरिएको थियो । आन्तरिक वायु सेवा कम्पनीहरुले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गर्ने प्रयास गर्दा पनि विभिन्न कारणले उडान खोल्ने मिति सर्दै आएको थियो । ६ महिनादेखि उडान बन्द हुँदा आन्तरिक वायु सेवा कम्पनीहरुले १० अर्ब रुपैँया बराबरको नोक्सानी व्यहोर्नुपरेको नेपाल वायु सेवा संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए ।
‘प्रमुख पर्यटकीय सिजनमा उडान बन्द गरेर बस्नुपर्यो । यसले गर्दा ठूलो नोक्सानी भयो,’ थापाले भने । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार कोरोना संक्रमण हुन नदिन उच्च सर्तकता अपनाएर उडान सुरु भएको भन्दै थापाले सबैलाई ढुक्क भएर विमान सेवा प्रयोग गर्न आग्रह गरेका छन् । पहिलो उडान शुरु भएपछि बुद्ध एयरको विमानबाट पहिलो फ्लाइटमा सोमबार वायुसेवा संचालक संघ नेपालका अध्यक्ष थापासहितको टोली पोखरा पुगेको छ ।
यात्राको क्रममा विमानका पाइलट, प्राविधिक, क्रुमेम्बरलगायतका कर्मचारी र यात्रुहरुले कोरोना संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको पाइएको संघका अध्यक्ष थापाले जानकारी दिए । यात्रुले यात्रा अवधिभर कुनै झन्झट नमानी माक्स र भाइजर लगाएका थिए । यात्रा गर्नुअघि विमानस्थलमा ज्वरो नाप्ने, यात्रुको झोलाहरु सेनिटइज गर्ने, यात्रुले साबुन पानीले हात धुने र सेनिटाइजर लगाउने व्यवस्था मिलाइएकाले हवाई यात्रा निकै सुरक्षित भएकाले ढुक्क भएर यात्रा गर्न संघका अध्यक्ष थापाले अनुरोध गरे ।
जहाजले यात्रु ओरालेपछि यात्रुले छुने जहाजको पार्टमा सेनिटाइज गरिएको थियो । जहाजमा चढ्दा र ओर्लदा डिस्टेन्स मेन्टेन गरी पाँचर पाँचजना यात्रुलाई ओर्लन र जहाज चड्ने व्यवस्था मिलाइएको थियो । यसरी विमानस्थल पुगेदेखि जहाजको यात्रा अवधिभर र ओर्लेर गन्तव्यतर्फ नगएसम्म उच्च सर्तकता अपनाइएको र यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्याउन सक्षम रहेकाले ढुक्क भएर यात्रा गर्न यात्रुलाई संघ अध्यक्ष थापाले अनुरोध गरे ।
पहिलो दिनको हवाई उडानमा ८० प्रतिशत यात्रुले यात्रा गरेकाले उत्साहा मिलेको वायुसेवा संचालकले बताएका छन् । पहिलो दिन १६ वटा फ्लाइटले उडान भर्ने बताइएको छ । बुद्ध एयर, यति, श्रीएयर, सिम्रिक एयर, समिट एयरले आ-आफ्नो क्षमताअनुसार यात्रु बोक्ने छन् । यात्रुको चापलाई हेरेर थप जहाज उडान थप्दै जाने उनले जानकारी दिए । वायुसेवा संचालक संघले छिट्टै नै जोमसोम, लुक्ला, सिमीकोटलगायतका दुर्गम पहाडि क्षेत्रको उडान पनि संचालन गर्ने थापाले बताए ।