बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा घट्यो
काठमाडौं, १० असोज । चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा नेपालका बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रभावित कर्जा घटेको छ । राष्ट्र बैंकद्वारा शुक्रवार सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनले गत आर्थिक वर्षको साउनको तुलनामा चालू आवको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले घटेको देखाएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १०.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजीक्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.६ प्रतिशतले र वित्त कम्पनीहरूको ३.१ प्रतिशतले घटेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ । २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.१ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।