राजस्व संकलनमा उतारचढाव, भदौमा दुवै शीर्षकमा लक्ष्यभन्दा कम
काठमाडौं, १० असोज । चालू आर्थिक वर्षको दुई महिनामा सरकारको राजस्व संकलनमा उतारचढाव देखिएको छ । साउनमा आन्तरिकतर्फ लक्ष्यभन्दा कम र भन्सारतर्फ लक्ष्यभन्दा बढी राजस्व संकलन भएकोमा भदौमा दुवै शीर्षकमा लक्ष्य भेट्न नसकेकोे भन्सार विभाग तथा आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ ।
महालेखा नियन्त्रणको कार्यालयका साउनमा ५७ अर्ब ६० करोड राजस्व उठेको छ, जसमा आन्तरिक राजस्व ३४ अर्ब ७५ करोड रुपैयाँ र भन्सार राजस्व २२ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । साउनमा आन्तरिक राजस्व ३५ अर्ब ९ करोड संकलन गर्ने लक्ष्य रहेको थियो । सोही अवधिमा भन्सार राजस्वतर्फ रू. १९ अर्ब ८९ करोड असुलीको लक्ष्य राखिएको थियो ।
यसैगरी भदौमा ३० अर्ब ८१ करोड ७१ लाख राजस्व संकलनको लक्ष्य राखिएकोमा २४ अर्ब ९८ करोड ८२ लाख मात्र संकलन भएको भन्सार विभागले बताएको छ । यस्तै उक्त महिना २१ अर्ब ९८ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २० अर्ब ८८ करोड उठेको आन्तरिक राजस्व विभागको तथ्यांक छ ।
सरकारले भदौ मसान्तसम्ममा ५० अर्ब ७१ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । उक्त अवधिमा ४७ अर्ब ८३ करोड भन्सार राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।