राष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

काठमाडौं, १९ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । त्यस्तै तालिम प्राप्त उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।
कार्यक्रमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धिसँग जोड्न सघाउ पुर्याउने बताए । नगर प्रमुख राउतले यस्तो कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।