केरुङ नाकाबाट दैनिक दश कन्टेनर सामान आयात
रसुवा, २१ असोज । चीनसँगको महत्वपूर्ण भन्सार तातोपानी नाका मंगलवारदेखि बन्द रहँदा केरुङ नाकाबाट भने नियमित सामान भित्रिरहेको बताइएको छ । परीक्षणका लागि दैनिक दश वटासम्म कन्टेनर भन्सार हातामा प्रवेश गर्ने गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म टिमुरेले बताएको छ । नेपाली व्यवसायीले चीनबाट आयात गरेका सामग्री दैनिकरूपमा नेपाल भित्रने क्रम बढेको रसुवागढी भन्सार कार्यालय प्रमख पुण्यविक्रम खड्काको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
नेपालमा आयात हुने मालवस्तु केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले ल्याउने गरेका छन् । नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताएका छन् ।
सामग्री लोड गर्ने कार्यका लागि ३२ भरिया र रसुवागढीबाट टिमुरेमा रहेको भन्सार हातामा कन्टेनर ल्याउन १७ चालकको व्यवस्थापन गरिएको सुरक्षा निकायले बताएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भरिया तथा चालकलाई रसुवागढी क्षेत्रमा छुट्टै बसोबासको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । कन्टेनरका सामग्री भन्सार जाँचपास भएपछि सम्बन्धित सवारी साधनका चालकले आफ्नो गन्तव्यतर्फ लैजाने व्यवस्था मिलाइएको बताइएको छ ।
चीनमा कोरोना संक्रमण फैलिएपछि बन्द भएको रसुवागढी नाका गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको थियो । सो अवधियता हालसम्म भन्सार शुल्कबापत रू. ५० करोड राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ ।