Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

महिला उद्यमशीलता अवसर र आवश्यकता

महिला उद्यमशीलता अवसर र आवश्यकता


शारदा रिजाल
निवर्तमान अध्यक्ष, महिला उद्यमी महासंघ, नेपाल

नेपालमा उद्यम गर्न चाहने र आफ्नै पौरखमा बाँच्न चाहने महिलाहरूलाई उद्यमशीलतामा जोड्न आवश्यक छ । अझै पनि घरपरिवारले महिलालाई उद्यम वा व्यवसाय गर्न त्यति विश्वास गरेको पाइँदैन । माइतीघरमा छोरीलाई अर्काको घरमा जाने, उतै गएर जे गरे पनि गर भन्ने मानसिकता अझै पनि छँदै छ । बुहारी भएर आइसकेपछि पनि छोरालाई जति विश्वास बुहारीलाई गरिँदैन । ‘महिलाहरूले पनि केही गर्न सक्छन्’ भन्ने सामाजिक जागरुकता अझै पनि कमी देखिन्छ । महिला उद्यमशीलता विकासका लागि एउटा समग्र पर्यावरण (इकोसिस्टम) तयार गर्नुपर्छ । विद्यालय र कलेजका पाठ्यक्रममा नै महिला उद्यमशीलताको विषयमा अध्ययनलाई अनिवार्य गर्नुपर्ने देखिन्छ । महिला गृहिणीमात्र होइनन्, उनीहरू उद्यमशील हुन्छन् भन्ने सामाजिक सोच स्थापित भएपछि मात्र महिला सशक्तीकरणको आधार तयार हुन्छ । त्यसपछि महिला उद्यमशीलता विकासका अतिरिक्त आवश्यकता– शीप, पूँजी, प्रविधि, बजार, प्रोत्साहनको व्यवस्था हुनुपर्छ ।

महिलाहरूलाई केन्द्रित गरी नेपाल सरकारले कार्यान्वयनयोग्य र व्यावहारिक कार्ययोजना ल्यायो भने उनीहरूको छिटो विकास हुन्छ । अझै पनि महिला उद्यमशीलता विकास अनुकूल वित्तीय पहुँच स्थापित हुन सकेको छैन । सम्पत्तिमा अधिकार नभएका कारण बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन सक्ने क्षमता उनीहरूमा हुँदैन । घरपरिवारले पनि पूँजी नदिने र बैंक तथा वित्तीय संस्थाबाट समेत पूँजी प्राप्त गर्न कठिन परिस्थितिमा महिला उद्यमशीलता फस्टाउन सक्दैन ।
वित्तीय अवस्था कमजोर भएका महिलाहरूका लागि महिला उद्यमी महासंघ, नेपालले ‘महिला उद्यमशीलता विकास कोष’ खोल्न सरकारलाई दबाब दिएपछि यो कोषको स्थापना गरियो । यो कोषले महिला उद्यमशीलता विकासका लागि केही सहयोग ग¥यो । यसबाट केही महिलाहरूले शुरू गरेका उद्यम स्थापित भए । यसले के देखाउँछ भने सभासम्मेलनमा महिलाका पक्षमा बोलेर मात्र हुँदैन, नीतिगत सुधारले मात्र लक्षित उपलब्धि हासिल हुन सक्छ ।

अहिले सरकारले नीतिगत व्यवस्था गरेर नै महिलाहरूले सञ्चालन गरेका उद्योग दर्ता गर्न र आयकरमा विभिन्न किसिमका छूट दिएको छ । यस्ता छूट÷सहुलियतका अतिरिक्त उनीहरूलाई उद्यम क्षेत्रमा टिकाइराख्न व्यावसायिक र व्यवस्थापकीय तालिमको आवश्यकता पर्दछ । सृजनशील क्षमताले महिलाहरू उद्यमी बन्न उत्प्रेरित भएका हुन्छन् । तर उद्यमशीलता विकासका लागि सृजनशीलताले मात्र पुग्दैन । यस क्षेत्रमा टिकिरहन उनीहरूलाई ज्ञान, शीप, लगानी र निरन्तरताको आवश्यकता पर्दछ । यस्ता ज्ञान र शीपको कमीले गर्दा उनीहरूमा देखिएको उत्साह केही समयमै समाप्त हुँदै जान्छ । उनीहरूको उत्साहलाई दिगो बनाउन सहुलियत कर्जा, कर तथा उद्यम दर्तामा छूट जस्ता सहुलियत र क्षमता विकासलाई प्राथमिकता दिनुपर्छ ।

पढेलेखेको मध्यम वर्गीय परिवारमा त छोरीलाई उद्यमी बन्न वा व्यावसायिक क्षेत्रमा प्रवेश गर्न कठिन छ भने ग्रामीण भेगका महिलामा झनै समस्या छ । महिलाले व्यवसाय तथा उद्यम गर्नु भनेको एउटा ठूलो जोखिम निम्त्याउनु पनि हो । त्यही भएर पनि अहिले पनि कतिपय समुदाय र स्थानमा महिलाले उद्यम सञ्चालन गर्न सक्दैनन् भन्ने मानसिकता रहेको छ । त्यसैको चपेटामा ग्रामीण भेगका महिलाहरू परेका छन् ।

अहिले तीन तहको सरकार बनेको छ । अब तीनै तहका सरकारले महिला उद्यमशीलता विकासका लागि आवश्यक नीतिगत प्रोत्साहन, महिलाले सञ्चालन गरेका उद्यमलाई छूट÷सहुलियत तथा वित्तीय पहुँच विस्तारका कार्यक्रम ल्याउनुपर्छ । एक–दुई वर्ष अगाडिको बजेट निकासा हेर्दा महिला उद्यमशीलताका लागि निकासा भएको बजेट पनि सडक बनाउन खर्चिएको पाइन्छ । त्यसकारण बजेटको यथार्थ र प्रभावकारी कार्यान्वयनमा हामीले खबरदारी गर्नुपर्छ । जनप्रतिनिधिहरूलाई पनि उद्यमशीलताको महत्वबारे बुझाउन आवश्यक छ । विभिन्न पृष्ठभूमिबाट आउनु भएकाले सबैको उद्यमीलाई हेर्ने दृष्टिकोण फरक हुन सक्छ । जनप्रतिनिधिहरूले उद्यमशीलताको महत्वलाई बुझेर, यसलाई प्राथमिकता दिनुभयो भने उद्यमशीलताको बजेट सडकमा खर्च हुने अवस्था नआउला ।
महासंघले महिलाहरूलाई उद्यम क्षेत्रमा आएको बजेटमा खबरदारी गर्न अनुरोध गरेपछि अहिले स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूले यसमा ध्यान दिन थाल्नुभएको छ । महिला उद्यमशीलता र आफ्नो गाउँठाउँमा उद्यमशीलता, उत्पादन र रोजगारीको महत्व बुझेपछि स्थानीय सरकारको मनस्थितिमा परिवर्तन आएको छ । महासंघको निरन्तरको पहलपछि उहाँहरूले समाजको विकासमा उद्यमशीलताको महत्वलाई ढिलै भए पनि बुझ्न थाल्नुभएको छ । महिलाले उद्यम तथा व्यवसाय गरेर आर्जन गरेको पैसा घरपरिवार धान्न खर्च भयो भने श्रीमान्ले कमाएको बचत हुन्छ । आवश्यकता परेको बेला बचत उपयोग गर्न सकिन्छ । विशेषगरी बच्चाहरूको लालनपालनमा खर्च बढी हुने भएकाले महिला उद्यममा लागे उनीहरूको रेखदेख गर्न सहज हुन्छ । महिला उद्यमशीलता वास्तवमा समाज रूपान्तरणको संवाहक हो ।

अध्ययनहरूका अनुसार महिला उद्यमशीलताबाट भएको आर्जनले आगामी पुस्तालाई फाइदा पु¥याएको छ । किनभने उनीहरूले शिक्षामा खर्च गरे । एकजनाले मात्र कमाएको पैसाले बालबच्चालाई राम्रो शिक्षा दिन नसकिएको पनि हुन सक्छ ।महिला उद्यमशीलता विकासका लागि हरेक विकल्पहरूमा सरकारले उद्यमशीलता विकासका सम्भावनाहरू हेर्नुपर्छ । नेपाल सरकारले अहिले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ । यस्ता औद्योगिक ग्राममा उद्योग स्थापना गर्न महिलालाई प्राथमिकता दिनुपर्दछ । प्रदेशमा मात्र होइन, अब प्रत्येक पालिकाहरूमा एउटा–एउटा औद्योगिक ग्राम स्थापना हुनुपर्छ ।

अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला उद्यमशीलता सहजीकरण केन्द्रको अवधारणा पनि ल्याएको छ । महिला उद्यमी महासंघले यस्तो किसिमको सहजीकरण केन्द्रका लागि वर्षौंदेखि माग गर्दै आएको छ । महिलाहरूसँग भएको शीपलाई कसरी उपयोग गर्ने भनेर अलमलिएको अवस्थामा सरकारले नै स्किमहरू ल्याएको छ भने त्यो स्किम प्राप्त गर्न प्रस्ताव तयार गरी पेश गर्ने शीप उनीहरूसँग हुँदैन । विगतमा महिला उद्यमशीलता कोषकै कर्जा उपयोग गर्न पनि प्रस्ताव तयार गर्ने शीपको अभावमा १ लाख रुपैयाँको कर्जा लिन १० हजार प्रस्ताव तयार गर्नेलाई खर्च गर्नुपरेको उदाहरण पनि छ । सरकारले उद्यमशीलता सहजीकरण केन्द्र मार्फत महिला उद्यमीहरूलाई सहयोग गर्ने भएपछि अब त्यस्ता समस्या नआउन सक्छन् । उनीहरूले समय–समयमा तालिम लिएर शीप विकास गर्न र उद्यमशीलता विस्तार गर्न सक्छन् ।
उद्यममा लाग्न महिलाहरूलाई प्रोत्साहन गर्न, उनीहरूलाई मानसिक रूपमा तयार हुनका लागि पनि घर परिवारबाटै सहयोग आवश्यक पर्छ । वित्तीय पहुँच पनि त्यस्तै अर्को महत्वपूर्ण उत्प्रेरक हो । उद्यमका लागि आवश्यक पर्ने सामग्री वा कच्चा पदार्थ जुटाउन पनि पूँजीको आवश्यकता पर्दछ । पारिवारिक व्यवसाय भयो भने महिलालाई प्रोत्साहन हुन्छ । किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिवारका सबै सदस्यहरूको त्यसमा सरोकार हुन्छ ।

नेपाल राष्ट्र बैंकले अहिले महिला उद्यमशीलताका लागि उपलब्ध हुने सहुलियत कर्जाको आकार १५ लाख रुपैयाँ पु¥याएको छ । बैंकले पनि उनीहरूलाई कर्जा लिन आकर्षित गरिरहेका छन् । पहिले नीतिको अभावले बैंकले महिला उद्यमीहरूलाई कर्जा दिने अवस्था थिएन र साथीभाइ तथा नातेदारसँग सरसापटी लिएर व्यवसाय गर्नुपर्ने हुन्थ्यो । अहिले सरकारको अनुकूल नीतिका कारण महिलालाई सहज भएको छ । तर कहीँकतै नातावाद र कृपावादले गर्दा महिलालाई व्यवसायमा असहज पनि भएको पाइएको छ । यस्तो अवस्थामा क्षमतावान् महिलाहरू पछाडि पर्ने सम्भावना हुन्छ । त्यसकारण पारदर्शी र स्पष्ट नीतिगत व्यवस्था भइदियो भने महिला उद्यमशीलता विकास छिटो हुन्छ ।

विगत केही महिनादेखि कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा महिला उद्यमीहरूलाई कठिनाइ उत्पन्न भएको छ । कोरोना भाइरस संक्रमण महामारीको रूपमा फैलँदै गर्दा त्यसलाई नियन्त्रण गर्न सरकारले लागू गरेको देशव्यापी लकडाउनका कारण साना–मझौला उद्यमी व्यवसायी मारमा परेका छन् । यो अवस्थामा महिला उद्यमीहरूको संरक्षणका लागि सरकारले अन्य व्यवसायलाई झैं महिला उद्यमीले स–सानो लगानीमा सञ्चालन गरिरहेका व्यवसायलाई पनि वित्तीय र मौद्रिक प्रोत्साहन दिनुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x