राष्ट्रपतिबाट रानीपोखरीको उद्घाटन
काठमाडौं, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित रानीपोखरीको आज (बुधवार) उद्घाटन गरेकी छिन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीमार्फत नै रानीपोखरीबाट नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि शिलान्यास गरिएको थियो ।
नवनिर्मित रानीपोखरीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुन विश्वास व्यक्त गरेकी छिन् । साथै उनले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा गरेकी छिन् ।
रानीपोखरीको बीचमा महत्वपूर्ण तीर्थस्थलका रूपमा रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनर्निर्माण गरिएको छ । साथै उनले दरबार हाइस्कुलको पनि उद्घाटन गरेकी छिन्। रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनःनिर्मित भवनको उद्घाटन हुनु सराहनीय भएको राष्ट्रपति भण्डारीले बताइन् ।