विप्रेषण आप्रवाहमा ८.१ प्रतिशत वृद्धि, शोधनान्तर बचतमा
काठमाडौं, ५ कात्तिक । कोरोना महामारीका बेला पनि नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी तथ्यांकले चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको देखाएको छ ।
तथ्यांक अनुसार भदौसम्ममा रू. १ खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण भित्रिएको छ । कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीको आयसँगै विप्रेषण रकम घट्ने अनुमानका विपरीत उक्त सकारात्मक वृद्धि कायम रहेको हो । महामारीका कारण पछिल्लो समय हुण्डी कारोबार घटेर वैधानिक माध्यम विप्रेषण आउने क्रम बढेकाले यस्तो वृद्धि भएको अनुमान गरिएको छ ।
यसैगरी गत भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति रू. ६७ अर्ब ६३ करोड बचतमा पुगेको छ । तथ्यांक अनुसार सोही अवधिमा सरकारको चालू खाता रू. २६ अर्ब ७ करोड बचतमा छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता २२ अर्ब ६९ करोड घाटामा रहेको थियो । आयातमा ह्रास आउनुका साथै नेपालीको वैदेशिक भ्रमण, विद्यार्थीले वैदेशिक शिक्षाका लागि तिर्ने रकम समेत घटेकाले चालु खाता घटेको हो । यस्तै मुलुकको विदेशी विनिमय सञ्चिति रू. १४ खर्ब ३३ अर्ब ६७ करोड बराबर पुगेको छ, जुन रकमले १४.९ महिना बराबरको वस्तु र सेवा आयात गर्न सकिन्छ ।