Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

खाद्य व्यवस्था कम्पनीद्वारा नयाँ धान खरिद शुरू

खाद्य व्यवस्था कम्पनीद्वारा नयाँ धान खरिद शुरू

धनगढी, १८ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, धनगढीले सुदूरपश्चिम प्रदेशमा नयाँ धान खरिद शुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले गरेको निर्णयबमोजिम पहिलो चरणमा कैलालीका किसानको धान खरिद थालिएको कार्यालयका प्रमुख अनिल श्रेष्ठको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ । कैलाली–कञ्चनपुरबाट कम्पनीले यस वर्ष ६ हजार ५०० मेटन (६५ हजार क्वीन्टल) धान खरिद गर्ने लक्ष्य राखेको छ । गतवर्ष ५० हजार क्वीन्टल धान खरिद गरिएको थियो ।
जिल्लाका मोहनपुर र टीकापुरमा रहेको कम्पनीको आफ्नै गोदाममा काँटा सञ्चालन गरी सोमवारदेखि नयाँ धान खरिद शुरू गरिएको भन्दै श्रेष्ठले सत्ती, भजनी र जोशीपुरमा एक÷दुई दिनमा खरिद शुरू गरिने बताएका छन् ।
सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्न लागेको हो । सरकारले मोटो धान प्रति क्वीन्टल रू. दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ ।
कम्पनीले धान खरिदको व्यवस्था समयमै नगर्दा आजसम्म स्थानीय साना किसान घर खर्चको व्यवस्था गर्नका लागि प्रति क्वीन्टल रू. २ हजारमा व्यापारीलाई विक्री गर्नुपर्ने बाध्यता थिए । अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा धान उत्पादन गत वर्ष भन्दा वृद्धि भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार डुबानबाट प्रभावित क्षेत्रबाहेक जिल्लाभरको उत्पादन यस वर्ष गत वर्षभन्दा केही वृद्धि भएको छ । जिल्लामा झण्डै ७० हजार हेक्टर जग्गामा वर्षे धान खेती हुँदै आएकामा उत्पादकत्व प्रति हेक्टर तीन दशमलव पाँच मेटन रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x