विकास बजेट खर्चमा झीनो सुधार
काठमाडौं, ३ पुस । मुलुकमा वर्षेनि विकास बजेट कार्यान्वयन सुस्त रहने गरेकोमा यस वर्ष पनि सोही समस्या दोहोरिने देखिएको छ ।
सरकारले चालू आर्थिक वर्षको ५ महिना अवधिमा कुल पूँजीगत बजेटको १० प्रतिशत मात्र खर्च गर्न सकेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.८ प्रतिशत मात्र बढी हो ।
गत आवको पहिलो ५ महिनामा सरकारले ९.२ प्रतिशत पूँजीगत खर्च गरेको थियो ।
चालू आर्थिक वर्षमा सरकारको पूँजीगत बजेट रू. ३ खर्ब ५३ अर्ब रहेको छ, जसमध्ये मंसिर अन्त्यसम्ममा रू. ३५ अर्ब ९४ करोड मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
यस्तै मंसिर मसान्तसम्ममा सरकारले कुल खर्च रू. ३ खर्ब २८ अर्ब गरेको छ, जुन वर्षभरिका लागि विनियोजित कुल बजेटको एक चौथाइभन्दा थोरै हो । सरकारको चालू खर्च भने कुल विनियोजित बजेटको ३० प्रतिशत खर्च भएको छ ।